एन्फाले दियाे सेनालाई आवश्यक खेलसामग्री
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाकाे जंगीअड्डा परिसरमा रहेको खेलकुद मैदानलाई थप स्तरीय बनाउन आवश्यक खेलसामग्री हस्तान्तरण गरेका छन्।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त सामान हस्तान्तरण गरे।
विभिन्न समयमा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताकाे अभ्यास गर्ने सुविधासम्पन्न खेल मैदानकाे आवश्यकता मध्यनजर गरी आवश्यक सामग्रीहरु प्रदान गरिएको हो।
उक्त खेल मैदानमा रहेको भिभिआईपि प्यारापिटमुनिको दुइटा खेलाडी चेन्जिङ रुममा खेलाडीहरुलाई आवश्यक पर्ने व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर, फिजियोथेरापी बड, रेफ्रिजेनेटर तथा रेफ्री चेन्जिङ रूमका लागि व्यक्तिगत लकरमा अट्याच सिट विथ ड्रयर, सोफा, टेबललगायत तीनवटै कोठामा कार्पेट, झ्यालमा ट्रान्सलुसेन्ट स्टिकर तथा रंगरोगन गर्ने कार्य सम्पन्न गरी सेनालाई हस्तान्तरण गरेको एन्फाले जनाएकाे छ।
उक्त मैदानको स्तरोन्नतिले खेलकुदको सम्वर्द्धन र प्रवर्द्धनमा थप टेवा पुर्याउने नेपाली सेनाकाे विश्वास छ।