तनहुँकाे बस्तीमा पस्यो सेती नदी र सुरौंदी खोला
निरन्तरको वर्षाले तनहुँमा सेती नदी बस्तीमा पसेको छ। तनहुँको शुक्लागण्डकी नगरपालिका ८ र ४ को पुल्चोक बजारमा सेती नदी वस्तीमा पसेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए।
उनका अनुसार दुवै वडामा गरेर ४० घर डुबानमा परेका छन्। प्रवक्ता कुमालले भने, ‘गौंडा सानो भएर पानी माथि आएको हो। त्यहाँका बासिन्दालाई स्थानीय गुम्बामा सारेका छौं।’
वडा नम्बर ८ का वडा सदस्य बिलबहादुर गुरुङका अनुसार अहिले नदी पुरानै स्वरुपमा आएको छ। ‘बिहान त डरलाग्दो थियो। अहिले पानी घटेको छ,’ उनले भने, ‘हाम्रोतिर सुरौंदी खोला पस्यो। पारि सेती।’
वडा नम्बर ४ मुख्य सडकतिर र वडा नम्बर ८ सेती नदी पारि पर्छ। प्रभावितलाई खानेबस्ने व्यवस्था कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको वडा सदस्य गुरुङले बताए। पानीको बहाव बढ्दा बर्सेनि उक्त क्षेत्रमा सेती नदी बस्तीसम्म पुग्ने गरेको छ।
नदी उर्लिँदा वडा नम्बर ८ र ४ जोड्ने पक्की पुल जोखिममा परेको वडा ४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। उनले भने, ‘त्यो पुलको पारिको पिल्लर पहिल्यै जोखिममा थियो। अहिले त ठाउँ छोड्यो होला। पानी घटेपछि थाहा हुन्छ।’