एकैदिन १४ स्थानमा पहिरोः १६ जनाको मृत्यु, ४४ बेपत्ता

एकैदिन १४ स्थानमा पहिरोः १६ जनाको मृत्यु, ४४ बेपत्ता

लगातारको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र मुलुकका १४ स्थानमा पहिरो गएको छ। पहिरोमा परी १६ जनाको मृत्यु भएको छ, भने ४४ जना बेपत्ता छन्। १५ जना घाइते भएका छन्।

‘झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ,’ प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले भने, ‘जाेखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आह्वान गरिएको छ। उद्धार र खोजबिनमा स्थानीय प्रहरी, प्रशासन खटिएको छ।’

कास्कीमा ७ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। 

प्राधिकरणका अनुसार पोखरा महानगरपालिका-१८ सराङकोटमा पहिरो खसेको छ। पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन्। 

वडा नम्बर १७ छोरेपाटन, वडा नम्बर २५ हेम्जा, वडा नम्बर २६ पैतेडाँडा, वडा नम्बर १९ तल्लोडाँडामा पनि पहिरो गएको छ। पहिरोमा कयौं बेपत्ता भएका छन्। कास्कीकै माछापुच्छ्रे गाउँपालिका-९ चुङडुङमा पनि पहिरोले एक घर भत्काएको छ।

म्याग्दीमा पहिरोमा ३५ घर पुरिएका छन्। घटनामा तीनजनाको ज्यान गएको छ भने ३३ जना बेपत्ता भएका छन्।

प्राधिकरणका अनुसार धाैलागिरि गाउँपालिका-मराङरिखामा घन्टीवाङ भीरबाट पहिरो खस्दा दुई घर पुरिएका छन्। अन्य दुई घरमा समेत क्षति पुगेको छ। धाैलागिरि र मालिका गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको हो।

लमजुङको बेसीसहर नगरपालिका-७ सातबिसेमा पहिरो जाँदा एक घर पुरिएको छ। तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

रुकुम पश्चिममा पनि पहिरो गएको छ। आठबिसकोट-३ मा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा पहिरो गएको छ। पहिरोमा बेपत्ता भएका १२ जनामध्ये एकको शव फेला परेको छ।

बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन्।

राजमार्ग अवरुद्ध

अविरल वर्षापछिको पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन्।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-१ कमेरेफाँट नजिक मरीणलालबन्दी सडकखण्ड र विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन्।

फिक्कल गाउँपालिकास्थित मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध बनेको छ। सिन्धुली र उदयपुरको सीमामा रहेको बादुरे खोला बहाव बढेपछि बाटो अवरुद्ध भएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा भीमफेदी-काठमाडौं सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ। त्यस्तै, प्युठानको सरुमारानी गाउँपालिका-४ ठूलोघुम्तीस्थित भालुवाङ-प्युठान सडकखण्ड पनि अवरुद्ध बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि प्रदेश २, ५ र गण्डकीमा बढी वर्षा भइरहेको छ। नेपालमा मनसुन सक्रिय भएकाले लगातार वर्षा भइरहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published.