गाडी चलाउन व्यवसायीका पाँच सर्त, नत्र चाबी बुझाउने धम्की

गाडी चलाउन व्यवसायीका पाँच सर्त, नत्र चाबी बुझाउने धम्की

सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि यातायात व्यवसायीहरूले सवारी नचलाउने भएका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी बिना कुनै पूर्व तयारी आफूहरूले सार्वजनिक यातायात सञ्चालन नगर्ने बताएको छ।

‘यस्तो महामारीको समयमा पूर्वतयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्न सकिँदैन यो व्यावहारिक छैन,’ महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले भने, ‘यस्तो अवस्थामा गाडी चलाउन सकिँदैन हामी सरकारलाई चाबी बुझाउँछौं।’

महासंघले समय समयमा राख्दै आएका मागहरूको सरकारले बेवास्ता गरेको र व्यवसायीसँग कुनै छलफल र परामर्श नै नगरी एकतर्फी चलाउने निर्णय गरेको उनको आरोप थियो । 

महासंघले सरकारसँग राखेको पाँचबुँदे माग सम्बोधन गरेमात्रै सवारी चलाउन सकिने उनले जिकिर गरे ।

सार्वजनिक यातायातका सम्पूर्ण साधनलाई विश्व स्वास्थ्य संगठनले तोेकेको मापदण्ड नेपाल सरकारले पूर्ण व्यवस्था गरिदिनुपर्ने, यातायात मजदुर र यात्रुकोे स्वास्थ्यको पूर्ण व्यवस्थासहित हस्पिटालिटीको व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पुनः तालिकीकरण हुनुपर्ने, चार महिनाको बन्दाबन्दी अवधिको ब्याज छुट र थप चार महिनाको किस्ता अवधि बढाएर असोज मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, सरकारले तोकेबमोजिम विभिन्न प्रकृति (साना, ठूला, मझौला) का सवारी साधनको सिट मापदण्डबमोजिम यात्रु राखेर सञ्चालन गर्न नसकिने, कर छुट गरी सरकारले घोषणा गरेबमोजिम छुट हुनुपर्ने र एक वर्षसम्म जरिवाना नलाग्ने गरी म्याद थप हुनुपर्ने, बिमा प्रिमियम छुट समयावधि समायोजन हुनुपर्ने व्यवसायीको माग छ।

मागहरू पूरा भएमात्र यातायात व्यवसायी गाडी सञ्चालन गर्न सहमत हुने अन्यथा सम्पूर्ण सार्वजनिक यातायातको चाबी सम्बन्धित निकायमा बुझाउने यातायात व्यवसायीको चेतावनी छ।

लगानीको बचतपत्र व्यवसायीलाई दिई बाँकी बैंक ऋणसमेतको जिम्मा सरकारले लिनुपर्ने माग छ । त्यसो नभए सार्वजनिक यातायात नै सरकारमातहत सञ्चालन हुनेगरी राष्ट्रियकरण गर्न महासंघको माग छ। 


Leave a Reply

Your email address will not be published.