उद्धारका लागि म्याग्दी पुगेका दुई हेलिकोप्टर सदरमुकाममै अड्किए

उद्धारका लागि म्याग्दी पुगेका दुई हेलिकोप्टर सदरमुकाममै अड्किए

मौसम नखुल्दा म्याग्दीमा पहिरोमा पुरिएकाको उद्धारका लागि गएका हेलिकोप्टर सदरमुकाम बेनीमा रोकिएका छन् । उद्धारका लागि काठमाडौंबाट गएको नेपाली सेनाको र पोखराबाट गएको प्रभु हेलिकोप्टर सदरमुकाम बेनीमा रोकिएको म्याग्दीका सिडिओ ज्ञाननाथ ढकालले जानकारी दिए । 

‘डेढ घन्टा भइसक्यो । मौसम नखुल्दा उड्न सकेको छैन,’ सिडिओ ढकालले आयोमेलसँग भने । सिडिओ ढकालका अनुसार पहिरोमा ३१ जना वेपत्ता भएका छन् भने तीन जनाको मृत्यु भएको छ । 

धवलागिरी गाउँपालिकाका दुई र रघुगंगा गाउँपालिकाको एक पुरुषको मृत्यु भएको हो । उनीहरुको पहिचान खुल्न सकेको छैन । म्याग्दीका डिएसपी किरणजंग डिएसपी कुँवरले भने, ‘धवलागिरीको पहिरोमा वेपत्ता भएका दुई जनाको शव देखिएको छ । पहिरो बगेकाले निकाल्न सकेका छैनौं ।’

जोखिमपूर्ण क्षेत्रका दुई सय ४० जना अलपत्र परेका छन् । उद्धारका लागि गएको सेना र प्रहरीको दुईमध्ये एक टोली घटनास्थल पुगेको छ । धवलागिरी गाउँपालिकामा उद्धारका लागि टोली पुगेको हो । मालिका गाउँपालिकामा भने उद्धारका लागि हिँडेको टोली पुग्न नसकेको डिएसपी कुँवरले जानकारी दिए ।
 
शुक्रबार बिहान रघुगंगा नदीको बहाव बढ्दा पक्की पुलमा समेत क्षति पुगेको छ । रघुगंगा गाउँपालिका–३ पिप्ले र बेनी नगरपालिका–९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदीले क्षति पुगेको हो । पुल बगेपछि रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जाने बाटो बन्द भएको छ ।

नदी किनारमा बस्दै आएकालाई गाउँपालिकाले राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ । जोखिमपूर्ण क्षेत्रबाट ५० घरपरिवारलाई स्थानीय गायत्री मन्दिरको भवनमा सारिएको रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत अमृत शर्माले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.