एनजिओ सञ्चालक भन्दै लाखौं ठग्ने कटुवाल समातिए
पाँच करोडको ठेक्का परेको भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ का ४३ वर्षीय घनश्याम कटुवाललाई चुच्चेपाटीबाट पक्राउ गरिएको हो।
गोकर्णेश्वर नगरपालिका-८ आरूबारीमा बस्ने गरेका कटुवालले टोखाकी हिरामाया तामाङलाई २० लाख ठगेको पाइएको छ। ग्रामीण विकास परियोजना अनामनगरमा पाँच करोडको ठेक्का परेको भन्दै तामाङलाई ५० प्रतिशत पार्टनरसिप दिने भनी उनले २० लाख ठगी गरेको महाशाखाले जनाएको छ।
यस्तै, काठमाडौं-७ का नवीन खड्गीलाई खाद्यान्न आपूर्ति सम्बन्धमा कोटेशन गर्ने भनी २३ लाख ठगी गरेको पाइएको छ।
महाशाखाका अनुसार टोखा-३ सरस्वती टोलका हरिकृष्ण श्रेष्ठका दुई वटा प्राइभेट गाडी लगेर बेपत्ता भएको उजुरी उनीमाथि परेको छ।
यस्तै, कपनका हरिहर खनालबाट कार्यालयका लागि कम्प्युटर खरिद गर्ने भनी ७ लाख ३५ हजार रुपैयाँ ठगेको उजुरी परेको छ।
कटुवालले समाज परिवर्तन नेपालको प्रमुख हुँ भन्दै अन्य व्यक्तिलाई समेत ठगी गर्ने गरेको पाइएको अपराध महाशाखाले जनाएको छ।