बाढीले नवलपरासीमा दुई पुल भासिए, पोखरीको माछा बगायो
गएराती देखिको अबिरल वर्षाका कारण नवलपरासीको प्रतापुरमा दुई पुल भासिएको छ। खोलामा आएको बाढीका कारण पुल भासिएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार खेत र पोखरीमा बाढी पसेपछि माछा बगाएको छ भने धान खेत डुबाएको छ।
त्यसरी प्रभावित हुनेमा प्रतापुर गाउँपालिकाका- ३ र ८ मा रहेका आधा दर्जन गाउँ रहेका छन्। पालिका भएर बग्ने रायपुरा खोलामा आएको बाढीले प्रतापपुर- ८ फट्की टोलमा रहेको पुल भासिएको हो। पुल भासिँदा उक्त पुलबाट आवत जावत बन्द भएको स्थानीयले बताए। त्यसैगरी खोलाले बाधसँगै सडकसमेत कटान गरेको छ। रायपुर खोलाले सडक कटान गरेपछि उक्त सडकमा समेत आवतजावत बन्द भएको छ।
ति पुल र सडक भएर हिड्ने बालुवा टोल र फट्की टोलका बासिन्दा प्रभावित भएको प्रतापुर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु चौधरीले बताइन्। उक्त क्षेत्रका शुक्रबार आफूले निरीक्षण गरेको र निरीक्षण गर्दा खोलामा आएको बाढीका कारण दुई पुल हिड्न नमिल्ने गरि भासिएको बताइन्। उनले ति पुलका साथै खोलाले सडक समेत कटान गरेको बताइन्।
गाउँमा पुग्दा स्थानीयले पोखरीको माछासमेत बगाएको बताएको उनको भनाई छ। उनका अनुसार उक्त क्षेत्रमा माछा पालनका लागि ठूला-ठूला पोखरीहरू छन्।
त्यसैगरी उक्त गाउँपालिकाको वडा नम्बर ३ को धानखेती धनेवा खोलामा आएको बाढीले डुबेको छ। पानी पर्न नरोकिएका कारण गाउँ बाडीको जोखिमा रहेको स्थानीयको भनाई छ।
पालिकामा पहाडबाट आउने खोला भएका कारण पहाडमा पानी पर्ने बित्तिकै उक्त क्षेत्रमा बर्खाको समयमा बाढी आउने गर्दछ। प्रतापपुर- ३ नन्दपुर, बर्गदवा र अमवा गाउँको खेत डुबाइसकेको छ भने गाउँमा पस्न खोजेको छ।
गाउँमा पसेको अवस्थामा गाउँमा बनाइएको आश्रय स्थलमा जाने व्यवस्था मिलाइएको नमूना एकिकृत विकास परिषद्की सामाजिक परिचालक शारदा चौधरीले बताइन्।
प्रतापुरकी स्थानीय बासिन्दासमेत रहेकी उनले पानी पर्न नरोकिएका कारण खेत बाढीले डुबेर बाटोसम्म पानी आएको बताइन्। उनले नन्दपुर गाउँमा एक गैरसरकारी संस्थाले बनाएको करिब ६० जना अट्ने आश्रय स्थल र गाउँ नजिक रहेको स्कुल महेन्द्र जनता माविलाई प्रयोग गर्ने गरी काम भइरहेको जानकारी दिइन्।
उक्त क्षेत्रमा साना साना घर भएका कारण बर्षाको समयमा बर्षेनी डुबानमा पर्ने गरेका छन्। उनले भनिन् वर्षामा जोखिम छ, बर्षेनी बाढी पस्छ, रोपेको धान पनि बगाउँछ।