थामिएन् झरी, आज यी प्रदेशमा वर्षा

थामिएन् झरी, आज यी प्रदेशमा वर्षा

लगातारको वर्षा थापिएको छैन। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले गत बुधबार साँझबाट सुरु भएको वर्षाका कारण ११ जिल्ला प्रभावित भइसकेका छन्, भने ८ जिल्लामा बाढीपहिरो गएको छ।

तर, अझै वर्षा थामिने छाँट देखिँदैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सात वटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

गत बुधबार वागमती प्रदेश केन्द्रित भएको वर्षा पछिल्लो पटक पश्चिम नेपालतिर समेत सरेको छ। शनिबार  सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

शुक्रबार प्रदेश २, ५ र गण्डकीमा बढी पानी परेको थियो।

शनिबार प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा पनि वर्षा हुनेछ। जसमध्ये प्रदेश १ र २ का तराई क्षेत्रमा भारी वर्षा हुने देखिएको छ। लगातारको वर्षापछि पहाडी जिल्लामा पहिरो खस्दा धनजनको क्षति भएकोमा शनिबार प्रदेश १ र २ का तराईमा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ।

शनिबार मकवानपुर, सिन्धुली,उदयपुर लगायत प्रदेश १ र २ का तराई र चुरे भइ बहने साना नदीमा बहाव सतर्कता आसपास रहने तथा केह्रीमा खतरा तह पार गर्ने अनुमान गरिएको छ।

महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने चेतावनी दिएको छ।
 
आइतबार पनि  प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा  प्रदेश २ र  ५  का एक/दुई स्थानमा भारी वर्षाको सम्भावनाछ। आगामी सोमबार पनि वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार प्रदेश १ र २ का केही स्थानमा तथा वागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको   सम्भावना छ।
 


Leave a Reply

Your email address will not be published.