सडकमै रोपाइँ             

 सडकमै रोपाइँ             

झापा शिवसताक्षी नगरपालिकाका स्थानीयले सडकमै धान रोपाइँ गरेका छन्।

वर्षाका कारण सडक हिलाम्य बनेपछि स्थानीयले पूर्वपश्चिम राजमार्गको २ सय मिटर दक्षिण सतासीधाम सामुदायिक अध्ययन केन्द्रको भवन हुँदै दक्षिण जाने बाटोमा धान रोपिएको हो। 

शिवसताक्षीले नगरभित्रका अधिकांश सडकको स्तरोन्नति गरेको र जुनसुकै समयमा पनि सवारीसाधन चल्न सक्ने दाबी गर्दै आए पनि बर्खामा हिलाम्य बनेका छन्।

 यो सडक  शिवसताक्षी नगरपालिका ११ को दूधे बजार विकास समितिको क्षेत्राधिकारभित्र पर्छ।

बर्खामा हिलाम्य बनेको सडकमा  दैनिक निर्माण सामग्री बोकेका ट्रयाक्टर तथा टिपर गुड्न थालेपछि स्थानीयले त्यसलाई रोक्न वडाध्यक्ष भैरवकुमार श्रेष्ठसँग माग गरेका थिए।

 तर, वडाध्यक्ष श्रेष्ठ  ‘जसले गाडी कुदाएर बाटो बिगार्यो उसैलाई गएर भन्नु ’भन्दै तर्किएको उनीहरूको दाबी छ। आफूहरूले   सवारी धनीलाई सो विषय जानकारी गराउँदा ‘सडक बनाउने काम हाम्रो होइन ’भन्दै पन्छिएको स्थानीय बबिता लिम्बुले बताइन्।   

उनले भनिन् ,‘ एकले अर्कालाई देखाउँछन्, पन्छिन्छन् अनि बाटोमा धान नरोपे के गर्नु त।’

स्थानीय देवी बस्नेतले  हिँडडुल गर्न नै नसक्ने अवस्था सिर्जना भएपछि धान रोपेको सुनाइन्।कोही अस्पताल जानु पर्‍यो भने राजमार्गसम्म जान नसकिने  अवस्था भएपछि बाध्य भएर आफूहरूले  धान रोप्नु परेको उनले बताइन्। 

लगातार पानी परिरहेको अवस्थामा पनि सडकमा घन्टैपिच्छे ९ वटासम्म गाडी चल्न थालेपछि  छिमेकीबीच सल्लाह गरेर  हिलो बाटोको दुवैतर्फ ढाट लगाई रोपाईं गरेको उर्मिला आचार्यको भनाइ छ।  


Leave a Reply

Your email address will not be published.