म्याग्दी पहिरो अपडेट : थप १२ जनाको शव भेटियो, बेनी ल्याइयो सुत्केरी

म्याग्दी पहिरो अपडेट : थप १२ जनाको शव भेटियो, बेनी ल्याइयो सुत्केरी

म्याग्दीमा पहिरोमा परेर बेपत्ता भएका थप १२ जनाकाे शव भेटिएको छ। पहिरोमा परेर वेपत्ता भएका ३४ जनामध्ये १८ अझै भेटिएका छैनन्। पहिरोमा एक जनाको शव देखिए पनि उक्त शव निकाल्न नसकिएको सिडिओले जनाएका छन्।

तीन जनाको शव भने शुक्रबार नै भेटिएको थियो। हराइरहेकाको खोजी कार्य नेपाल प्रहरी र सेनाले गरिरहेको छ। घाइते पाँच जनालाई हेलिकोप्टरमार्फत रेस्क्यु गरेर बेनी अस्पताल ल्याइएको म्याग्दीका सिडिओ ज्ञानप्रसाद ढकालले जानकारी दिए। 

धवलागिरी गाउँपालिकाको मराङकी एक सुत्केरी महिलालाई पनि हेलिकोप्टरमार्फत बेनी ल्याइएको छ। शुक्रबार आएको पहिरोले म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिका धेरै प्रभावित भएका छन्।

‘पहिरोमा एक जनाको शव देखिएको छ। निकाल्न खोज्दा पहिरो खसिरहेकाले उद्धार टोलीले सकेन। अहिले उद्धार टोलि अर्कोतिर मुभ भएको छ,’ सिडिओले भने।  

जिल्लाभर पहिरोको जोखिममा रहेका पाँच सय जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान रघुगंगा नदीको बहाव बढ्दा पक्की पुलमा समेत क्षति पुगेको छ। रघुगंगा गाउँपालिका-३ पिप्ले र बेनी नगरपालिका-९ घतान जोड्ने मोटरेबल पुलमा रघुगंगा नदीले क्षति पुगेको हो। 

पुल बगेपछि अहिले रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने बाटो बन्द भएको छ। उक्त पुल हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्रै सडकमार्ग हो। नदी किनारमा बस्दै आएकालाई गाउँपालिकाले राति नै सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ।


Leave a Reply

Your email address will not be published.