‘बिचरा भइसके राउत’

‘बिचरा भइसके राउत’

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सत्तापक्षका साथै प्रतिपक्षी दलका सांसदहरूले चर्को आलोचना गरेका छन्।

आफैंले गरेका प्रतिवद्धताहरू पूरा गर्न नसकेका र मन्त्रीहरूले टेर्न छोडेको भन्दै सांसदहरूले मुख्यमन्त्री राउतको आलोचना गरेका हुन्।

मुख्यमन्त्री राउतले वितरणमुखी बजेट तर्जुमा नहुने रोस्टमबाटै पटक पटक घोषणा गरे पनि आर्थिक वर्षको बजेट पनि विगतभन्दा रत्तिभर फरक हुन नसकेको सांसदहरूले आरोप लगाएका छन्।

‘मुख्यमन्त्रीज्यूलाई उहाँकै मन्त्रीहरूले टेर्न छोडिसक्नुभएको छ,’ शुक्रबार विनियोजन विधेयकमाथिको छलफलमाथि बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले भने, ‘आफ्नै मन्त्रीले टेर्न छोडेका मुख्यमन्त्रीज्यू बिचरा भइसक्नुभएको छ।’

‘मुख्यमन्त्रीज्यूले समृद्ध, विकसित र एक नम्बर प्रदेश बनाउने उद्घोष गर्नुभएको थियो,’ यादवले भने, ‘तीन वर्ष बितिसक्यो प्रदेशका जनताले विकास र समृद्धि अहिलेसम्म हेर्न सकेका छैनन्। कार्यकर्ता फकाउन झिनो रकम छरेर समृद्धि र विकास आउनेवाला छैन।’

‘बिचरा’ भइसकेका मुख्यमन्त्रीबाट प्रदेशको उँभो लाग्नसक्ने कल्पना नगरे पनि हुने नेता यादवको जिकिर छ। ‘मुख्यमन्त्रीज्यू रोस्टममा एउटा कुरा भन्नुहुन्छ तर, गर्ने बेलामा अर्कै हुन्छ,’ प्रदेशसभामा उपस्थित राउतप्रति लक्षित गर्दै यादवले भने, ‘स–सानो कार्यक्रममा बजेट छरेर तपाई नीतिगत भ्रष्टाचार गरिरहनुभएको छ। मधेस आन्दोलन तपाईलाई नीतिगत भ्रष्टाचार गर्न भएको हो? वितरणमुखी बजेट आउँदैन तपाईले भन्नुभएको थियो। तर, यसपटक पनि उस्तै बजेट आएको छ।’

सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबीच कुनै तारतम्य नरहेको भन्दै उनले मुठीजसरी छरेर प्रदेशको विकास सम्भव नहुने बताए। समानताका लागि भन्दै लडाइँ गरेकाहरूप्रति अहिले बजेट वितरणमा भेदभाव गरिरहेको उनको आरोप थियो।

‘समानताका लागि मधेस आन्दोलन भएको नबिर्सनुस् तर बजेट त मन्त्रीहरूको ठाउँमा मात्रै पुगेको छ,’ यादवले भने, ‘बालुवा गिट्टी भण्डारण गर्न २१ करोड रुपैयाँ छुट्याउनुभएको छ। तर, पर्यटकीयस्थलको रूपमा विकास गरिने ठाउँका लागि लाखमा बजेट छ। खोइ त समानता?’

नेता यादवले २० लाखभन्दा कमको सबै योजना रद्ध गरेर प्रादेशिक योजना ल्याउन मुख्यमन्त्री राउतलाई सुझाए।
जनता समाजवादी पार्टीका सांसद परमेश्वर साहले पनि मुख्यमन्त्री राउतलाई मन्त्रीहरूले नटेरेको टिप्पणी गरे। मन्त्रीहरूले टेर्न छोडेपछि जनताले अपेक्षा गरेअनुसार प्रदेशमा विकास हुन नसकेको उनको भनाइ थियो।

सांसद साहले नटेर्ने मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न मुख्यमन्त्री राउतलाई सुझाए। ‘तपाई आफ्नो क्याबिनेटको प्रमुख हुनुहुन्छ, तपाईको निर्देशन सबै मन्त्रीले मान्नुपर्छ,’ साहले भने, ‘निर्देशन मान्न नसक्ने मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुप¥यो कि त तपाईले बर्खास्त गर्नुस।’ 

केही गर्न नसकिए आगामी दिनमा जनतासामु आफूहरू अनुत्तरित हुने साहको भनाइ थियो ।
 


Leave a Reply

Your email address will not be published.