४५ करोड हिनामिना गर्ने सहकारीका संस्थापक पक्राउ

४५ करोड हिनामिना गर्ने सहकारीका संस्थापक पक्राउ

एक हजार नौजना निक्षेपकर्ता र शेयरधनीको जाहेरीपछि प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका बाँकेका एक सहकारीका अध्यक्ष पक्राउ परेका छन्। 

४५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेका सहकारी वित्तीय विकास संस्था नेपालगन्जका सञ्चालक समितिका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनी सहकारीको रकम हिनामिना गरेका ठहर भएपछि फरार रहेका थिए। सहकारी र सहकारीका पदाधिकारीसँग बयान लिने क्रम चलिरहेको अवस्थामा प्रहरीले उनलाई खोजिरहेको थियो। 

प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगन्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले शनिबार बिहान पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताए। 

उनका अनुसार पक्राउ परेका सहकारीका संस्थापक अध्यक्ष चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा राखेर उनीमाथि प्रारम्भिक अनुसान्धान थालेको छ।

उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ तर फरार रहेका संस्थापक अध्यक्ष चौधरी शनिबार पक्राउ परेको र उनीमाथि अनुसन्धान भइरहेको छ। उनीमाथिको अनुसन्धानबाट चौधरी दोषी ठहरिए उनीविरुद्ध पनि कानुनी प्रकृया अघि बढाइने बाँके प्रहरी बताँउछ।

यसअघि संस्थाका चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइसकेको छ। उनीहरू कारागारमा सजाय भोगिरहेका छन्। जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलासले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुवेदी, बैंकिङ प्रबन्धक अरुणकुमार पाठक र सह–उपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको थियो।

अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि वज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख धरौटी मागिएको छ। बज्राचार्य २० लाख नगद धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो। कतिपय अभियुक्त अझै फरार रहेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए।

उनका अनुसार फरार रहेका प्रत्येक व्यक्तिको खोजी भइरहेको छ। उनीहरू भेटिएलगत्तै कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाइने छ। सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८ सय ६० सेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र सेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए।


Leave a Reply

Your email address will not be published.