म्याग्दी पहिरो अपडेट: थप पाँच जनाको शव भेटियो, १२ घाइतेको हेलिकोप्टरमार्फत उद्धार
म्याग्दीमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव भेटिएको छ। योसँगै अहिलेसम्म २० जनाको शव फेला परेको छ।
धवलागिरी गाउँपालिका-६ मराङ र मालिका गाउँपालिका-७ बिमका गरी २० जनाको शव भेटिएको हो। बेपत्ता भएकामध्ये तीन जनाको शव शुक्रबार नै फेला परेकोमा १२ जनाको शव शनिबार बिहान भेटिएको थियो।
अझै १३ जना हराइरहेका छन्। पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।
घाइतेमध्ये ११ जनाको बेनी अस्पतालमा र एक सुत्केरीको पोखरामा उपचार भइरहेको छ।
हराइरहेकाको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली खटिएको छ। शुक्रबार बिहान गएको पहिरोले म्याग्दीको धवलागिरि, मालिका गाउँपालिका अति प्रभावित भएका छन्। रघुगंगा गाउँपालिकामा भने सामान्य क्षति पुगेको छ।