पेट्रोलियम पदार्थको मूल्य नघटे आयल निगम घेराउ गर्छौं : नेविसंघ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
निगमले शुक्रबार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँले बढाएको प्रति आपत्ति जनाउँदै कडा आन्दोलनको चेतावनी दिएको हो।
कोरोना भाइरसको महामारीका बेला सर्वसाधारणले राहतको महसुस हुने काम गर्नुपर्नेमा निगमले लुट मचाउने काम गरेको नेविसंघको आरोप छ। बढाइएको मूल्य तुरुन्त फिर्चा नलिए सडक आन्दोलन थाल्ने नेविसंघका अध्यक्ष राजीव ढुंगानाले चेतावनी दिए।
‘कोरोना भाइरस महामारीको समयमा आयल निगमले सर्वसाधारणको ढाड सेक्ने काम गरेको छ,' अध्यक्ष ढुंगानाले भने, ‘हामीले मूल्यवृद्धिबारे निरन्तर आवाज उठाउँदै गर्दा पनि सरकारले ध्यान दिन सकेन। हाम्रो माग पुरा नभए आइतबार निगम घेराउ गर्छौ।’
निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८.८८ रुपैयाँ कायम भएको छ।