३३ किलो सुनकाण्डका अभियुक्त खड्का दुबईबाट आउँदै गर्दा पक्राउ
नेपाल प्रहरीको सर्वाधिक खोजीमा रहेका ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका काभ्रेका हरिशरण खड्कालाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए।
शाहीका अनुसार उनी हिमालय एयरको जहाजबाट काठमाडौं आएका थिए। दुबईमा लुकिछिपी बस्दै आएका उनलाई अध्यागमन विभागले रोकेर प्रहरीको जिम्मा लगाएको हो। खड्कालाई मोरङ लैजाने तयारी भइरहेको शाहीले बताए।
अध्यागमन विभागका अनुसार खड्कालाई आफू ‘रेड नोटिस’ रहेको थाहा थिएन। प्रहरीले उनलाई फेला पारे पक्राउ गर्न चिठी लेखेको थियो। ‘हाम्रो सिस्टममा ब्लाक लिष्टेड रहेको देखिएपछि सोधीखोजी गर्दा उनी सुनकाण्डका अभियुक्त रहेको थाहा भयो,’ अध्यागमन विभागका महानिर्देशक रमेश केसीले आयोमेलसँग भने।