८ करोडको पुल, ६ वर्षमा एउटा पिलर अहिले लकडाउनको बहाना

८ करोडको पुल, ६ वर्षमा एउटा पिलर अहिले लकडाउनको बहाना

६ वर्षसम्म निर्माण सम्पन्न नगरेको पुललाई ठेकदारले लकडाउन बहाना देखाएर काम लम्ब्याउन थालेका छन्।

जबकि जिल्ला प्रशासन कार्यालय कैलालीले लकडाउनमा निर्माणसम्बन्धी काम नरोक्न निर्देशन पनि दिएको थियो। 

निर्माणका सवारी साधन र श्रमिकलाई आवतजावतमा अवरोध नगर्न प्रहरीलाई समेत निर्देशन दिएको थियो। 

पुल नबनेपछि कारबाही गर्ने चेतावनी पाएको ठेकदार कम्पनीले जेठसम्म कृष्णपुर नगरपालिका र धनगढी जोड्ने मोहना पुल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि लकडाउनलाई बहाना बनाइएको छ।

पुल निर्माण गरिसक्नुपर्ने सम्झौताअनुसार म्याद थपपछि तेस्रो पटकसम्म पुल नबनाएको निर्माण कम्पनी एलाइड एड्भेन्चर जेभी प्रालिले जेठ महिनासम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएका थिए। तर चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनका कारण काम गर्न नसकेको भन्दै ठेकदारले पुल निर्माण कार्य फेरि पछाडि धकेलेका छन्।

धनगढीसँग प्रत्यक्ष सम्बन्ध भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका ७, ८ र ९ नम्बर वडावासीको सेवालाई मध्यनजर गर्दै २०७१ जेठमा दुई वर्षभित्रै सम्पन्न हुने सम्झौतासहित मोहना नदीमा पुलको निर्माण थालेको थियो।

दुई पटकसम्म थपिएको म्यादमा पुल नबनेपछि २०७६ असोजमा प्रशासनले एलाइडलाई कारबाही गर्ने चेतावनी दिएको हो। कारवाहीबाट बच्न एलाइडले तत्काल जेठसम्म सक्ने वाचा गरे पनि पुलको काम भने गतिलो तरिकाले अघि बढ्न सकेको थिएन। यसबीचमा कोरोना महामारी फैलियो र सरकारले लकडाउन ग¥यो। एलाइडका लागि यही बहानाले पुल नबनाउने बाटो फेरि खुलेको छ।  

बर्षौंदेखिको पुल माथि हिँड्ने कृष्णपुर नगरवासीको सपनालाई कुठाराघात गरी ठेकदारले सरकारी ठेक्कालाई फेरि लम्ब्याएका छन्। ‘६ वर्षसम्म बन्न नसेकेको पुलका लागि ठेकेदारले काम लम्ब्याउने बहाना पाए,’ कृष्णपुर नगरपालिका–९ का स्थानीय हरि भुत्यालले भने, ‘अब पुलमा हिँड्ने सपना देख्न छोडिसक्यौं, ज्यान जोखिममै पारेर डुंगामा हिँड्नुको विकल्प छैन।’ 

एलाइड एडभेन्चर कन्स्ट्रक्सनले दुई वर्षभित्र काम सम्पन्न गर्ने सम्झौताअनुसार २०७१ जेठमा पुल निर्माणको ठेक्का पाएको थियो। 

सम्झौताअनुसार ८ करोड रुपैयाँ लागतमा निर्माण गर्ने गरी ३ वर्षको अवधिमा पुल निर्माण गरिसक्नुपर्ने हो। तर त्यस समयमा पुलको २० प्रतिशत मात्रै काम सम्पन्न भएको थियो। समयमै पुल नबनेपछि दुई वर्ष समय थपिए पनि काम पूरा भएन। 

सडक डिभिजन कार्यालयले अन्तिम मौका दिएर २०७६ असारमसान्तसम्मका लागि दोस्रो पटक म्याद थप गरेको थियो। सो समयमा पनि पुलको भौतिक प्रगति जम्मा ५५ प्रतिशतमा सीमित बन्यो। 

सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख अर्जुन बमले कात्तिकदेखी पुलको दोस्रो स्पाम निर्माण थलेको ठेकदारले तेस्रो स्पाम निर्माण गर्न नसकेको बताए। 
डिभिजन प्रमुख बमका अनुसार ठेकदारले जेठ मसान्तसम्म पुल निर्माण गरिसक्ने प्रतिबद्धता जनाएपनि लकडाउनको बहाना देखाएर काम रोकेको छ। उनले पुल निर्माणमा आनाकानीगरेको ठेकदारलाई पुष महिनामा जरिवाना लगाए पनि सरकारको ९ औं संस्ोधन पछि पनः म्याद थप गरिएको बताए। 

‘काममा दवाव दिने उद्देश्यले निर्माण कम्पनिलाई दुई महिनाको जरिवाना समेत लगाएका थियौं’ डिभिजन प्रमुख बमले भने–‘तर लकडाउनलाई बहाना देखाएर पुनः काम रोकिएको छ।’ ‘हामीले मोहना पुललाई पहिलो प्राथमिकतामा राखेर ठेकदारलाई नियमित ताकेता गरिरहेका छौं’ डिभिजन प्रमुख बमले भने–‘माघ सम्म जसरी पनि काम सम्पन्न गर्नै पर्छ, लकडाउनलाई देखाएर पञ्छिने ठाउँ छैन।’

एलाईड एडभेन्चर कन्ट्रक्सन प्रालिका इन्जिनियर दिनेश बटालाले पनि जेठ सम्म काम सक्ने तयारीमा जुटेको भएपनि लकडाउनका कारण काम रोकिएको बताए। पुलका तीन स्पाम मध्य दुई वटा निर्माण गरिसकिएको भन्दै उनले माघ सम्म पुल निर्माण कार्य सम्पन्न गरिने बताए। 

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने लकडाउनमा निर्माण व्यवसायीलाई काम गर्न नरोकेको भन्दै लकडाउन बाहना बनाउन नमिल्ने बताए। ‘लकडाउन पछि मैलेनै एलाइड कन्ट्रक्सनका प्रतिनिधी लाई बोलाएर काम नरोक्न निर्देशन निदएको थिए’ प्रजिअ बोहराले भने–‘अहिले लकडाउनको बहाना बनाएर काम रोक्न मिल्दैन, आनाकानी गरे कारवाही हुन्छ।’


Leave a Reply

Your email address will not be published.