कनकाईको बाढीले ५ घर विस्थापित

कनकाईको बाढीले ५ घर विस्थापित

तीन दिनदेखि लगातार परेको वर्षाले पूर्वी जिल्ला झापामा जनजीवन प्रभावित बनेको छ। जिल्लाका विभिन्न स्थानमा कटान सुरु भएको छ। पाँच परिवार विस्थापित भएका छन्।  

कनकाईमा आएको बाढीले आज  शिवसताक्षी नगरपालिका १० सुकुम्बासी बस्तीका ४ घर विस्थापित भएका हुन्। प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव, लालु ऋषिदेको परिवार विस्थापित भएको हो।

बाढीले घर भत्काउन सुरु गरेपछि सशस्त्र प्रहरीको टोलीले घर भत्काएर उनीहरूलाई सुरक्षित स्थानमा सारेको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए। यसअघि पनि सोहि ठाउँमा कनकाई नदीले तीन परिवारको विस्थापित भएका थिए।

वर्षा निरन्तर भइरहे त्यहाँका करिब १५ घर कटानको जोखिममा पर्ने रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

स्थानीय बनियानी खोलाको बाढीका कारण गौरीगञ्ज गाउँपालिका १  होक्लाबाडीमा  एक घर विस्थापित भएको छ। विस्थापित हुनेमा रामजी मुर्मूको परिवार भएको जनाइएको छ।

त्यस्तै मेचीनगरको निन्दा खोलामा आएको बाढीले मलामी घर बगाउन सुरु गरेको  छ। कमल खोलाको बाढीले  गौरीगञ्ज- १ कुञ्जीबारी बजार र गौरादह नगरपालिका ९ को सीमा खोला कमलको झोलुङ्गे पुल उच्च  जोखिममा  परेको छ।

मेचीनगर- ७ साबिक ज्यामिरगडी ८ र ९ को सीमामा पर्ने पालिया पुल कटानमा परेको छ। रतुवा खोलाको बाढीले कमल गाउँपालिका  ५,६ र ७ मा क्षति पुर्याएको छ।              

कनकाई नदीले तीव्र रुपमा जमिन कटान गरिरहेको छ। मेची, टाङ्टिङ, रतुवा, बिरिङ, कमल, बनियानी लगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ।

झापा गाउँपालिका पाँचका ३० वर्षीय एक पुरुष बिरिङ खोलाले बगाएर बेपत्ता भएका छन्। उनको खोजिकार्य भइरहेको जिल्ला प्रहरीकार्यालय झापाले जनाएको छ।


Leave a Reply

Your email address will not be published.