बाढी विपद् उद्धार कार्यको प्रयोगात्मक अभ्यास
नदीहरू पानीको बहाव बढ्न थालेपछि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत बाँके र बर्दियामा सुरक्षाकर्मी सम्मिलित प्राविधिकहरूले बाढी विपद् कृतिम उद्धार कार्यको प्रयोगात्मक अभ्यास गरेका छन्। बाढीको जोखिम बढ्दै जाँदा बाँके र बर्दियाका जोखिमयुक्त नदीमा समितिले विपद्बाट जोगाउन उद्धारका लागि कृतिम घटना अभ्यास गरेको हो।
वर्षा याममा बाढीको जोखिमले मानवीय तथा भौतिक क्षति हुन सक्नेभन्दै समितिले उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बाँकेको राप्ती र बर्दियाको बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम गरिएको जनाएको छ।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोग तथा उपस्थितिमा बाढीको कृतिम घटना अभ्यास गरिएको थियो। घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरूलाई नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले प्राथमिक उपचारक गरेर नजिकको अस्पतालमा पठाउने अभ्यास गरेका थिए।
१ सय ७० जनाको सहभागितामा राप्ती नदीको सिधनियाघाटमा भएको कार्यक्रममा बाँकेका प्रजिअ रामबहादुर कुरुम्वांगले कृतिम घटना अभ्यासले बाढीको समयमा जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामग्रीको पूर्वतयारी गर्न सहयोग पुगेको बताए।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पनि बाढीको कृतिम घटना अभ्यास आयोजना गरेको छ। बर्दियाका जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बाढीको समयमा हुने मानविय र भौतिक क्षति तथा खोज, उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष झै यस वर्ष पनि बबई नदिमा कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष लिलाधर अधिकारीले मनसुन सकृय रहेको र बाढी आइहालेमा त्यसबाट हुने जोखिबाट जोगिन जिल्ला तयारी अवस्थामा रहेको बताए।