रित्तिन थाले क्वारेन्टाइन
चौध दिन क्वारेन्टाईनमा बसेपछि अनिवार्य घर पठाउने नीति लिएपछि सूदुरपश्चिमका क्वारेनटाइन रित्तिन थालेका छन्। अहिले भारतबाट आउनेहरु पनि निकै कम भएका छन्।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर जम्मा चार हजार ८ सय ३४ जना नागरिक मात्रै क्वारेन्टाइनमा छन्।
जेठ २० देखि सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा ८० हजार मानिस थिए। अहिले ती लगभग सबैजना घर गइसकेका छन्।
पछिल्लो नीतिपछि १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई आरडिटी परीक्षणमात्रै गरेर घर पठाइएको हो। स्वास्थय मन्त्रालयका अनुसार आरडिटी विधीबाट गरिएको स्वास्थ्य परिक्षणमा पोजेटिभ देखिएमात्रै पिसिआर गर्ने हो।
भारतबाट मात्रै सुदूरपश्चिम प्रदेशमा १ लाख बढी नेपाली भित्रिएका थिए।
तीमध्ये लगभग २५ हजार ६ सय ८० जनाको पिसिआर परीक्षण भएको छ।
तर आरडिटी विधीबाट भने १ लाख ४३ हजार तीन सय ३३ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिममा अहिले सबैभन्दा बढी कञ्चनपुरमा दुई सय ४४ महिला र ८ सय ७५ पुरुष गरी जम्मा चार हजार ८ सय ३४ जना क्वारेन्टाइनमा छन्।
यसैगरी कैलालीमा एक हजार ५१ जना, बझाङमा पाँच सय ३८, डोटीमा पाँच सय ३७, बैतडीमा पाँच सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
अछाममा तीन सय ४९, दार्चुलामा तीन सय सात, डडेल्धुरामा दुई सय ५१ र बाजुरामा एक सय ६३ जनालाई क्वारेन्टाइनमा छन्।
खालि भएका क्वारेन्टिनमा अहिले संक्रमितलाई उपचारका लागि राखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टिनमा राखिएको जानकारी बताए। उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टिनलाई नै अहिले आइसोलेसनमा परिणत गरिएको हो।
हाल सुदूरपश्चिम प्रदेभरका जम्मा तीन हजार ७ सय ६४ कोरोना संक्रमित मध्य १ हजार २ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। ८० जना विभिन्न अस्पतालमा उपचाररत छन्। कोरोनाका कारण ७ जनाको मृत्यु भएको प्रदेशमा अन्य संक्रमित भने क्वारेण्टाइनमै बस्दै आएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ५६ जना, बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, अछामका एक सय ६४ र डोटीका एक सय ५७ र कैलालीका एक सय एक जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ।
यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।