आगामी तीन दिनमा पनि मौसममा सुधार नआउने, अब मध्य र पूर्वी क्षेत्र केन्द्रित वर्षा

आगामी तीन दिनमा पनि मौसममा सुधार नआउने, अब मध्य र पूर्वी क्षेत्र केन्द्रित वर्षा

गत बुधबारदेखिको वर्षा अझै रोकिएको छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमति प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। त्यस्तै, बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ।

मौसमविद् राजु प्रधानाङ्गले अहिले मनसुन सक्रिय रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको बताए। ‘हामी तीन दिनको मौसमको पूर्वानुमान गर्दै आएका छौं, यो हिसावले आगामी तीन दिनमा पनि मौसममा सुधार आउने देखिँदैन,’ आयोमेलसँग उनले भने।

प्रधानाङ्गका अनुसार अब प्रदेश १, २, बागमती र गण्डकी प्रदेश केन्द्रित वर्षाको सम्भावना छ। साथै, प्रदेश ५ को पूर्वी भूभागमा पनि वर्षा हुनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको क्रम क्रमशः घट्दै जाने देखिएको उनले बताए।

महाशाखाले यसअघि असार २५ देखि चार दिनसम्म मुलुकभर लगातार वर्षाको सम्भावना आकलन गरेको थियो। प्रक्षेपणझैं वर्षा रोकिएको छैन। मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका घटना भएको विवरणहरू आइरहेका छन्।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार शनिबार मुलुकका विभिन्न जिल्लामा गएको बाढीपहिरोमा परी १९ जनाको ज्यान गएको छ, भने १८ बेपत्ता छन्। एक सातामा मात्र ६० ठाउँमा पहिरो गएको छ, भने १० ठाउँमा बाढीका घटना भएका छन्। २६ स्थानमा ठूलो वर्षा भएको छ।

आइतबार दिउँसो प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा वर्षाको आकलन गरिएको छ। त्यस्तै, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरिएको छ।

शनिबार राति इलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र मकवानपुर क्षेत्रमा भारी वर्षा भएको छ। 

वर्षाका कारण विरिङ,निन्दा, कन्काई, मावारतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया नदी खोलामा पानीको बहाब बढेको छ। बाढी पूर्वानुमान महाशाखाले त्यस क्षेत्रका तटीय क्षेत्रमा रहेका नागरिकलाई अलर्ट रहन भनेको छ।

 


Leave a Reply

Your email address will not be published.