झापामा बाढी, ५६ घरपरिवार विस्थापित 

झापामा बाढी, ५६ घरपरिवार विस्थापित 

शनिबार रातिदेखिको अविरल वर्षाले झापा लगायत पूर्वको जनजीवन प्रभावित भएको छ। झापामा एक जनाको मृत्यु भएको छ, अर्का एक व्यक्ति बेपत्ता भएका छन्।

आइतबार बिहान ३ बजेको मापन अनुसार कनकाई मैनाचुली इलामको बाढी मापन केन्द्रमा जल सतह खतरा तहमा पुगेको छ। झापाको कनकाइ तटीय क्षेत्र डुवानमा परेको छ। 

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कनकाईको बहाब ३.४७ मिटर पुगेको र यो बढ्ने क्रममा रहेको जनाए। रेडक्रसले जिल्लाका सबै रेडक्रसकर्मीलाई उद्धारको काममा लाग्न भनेको छ।

कनकाई नदीको बहावले खतराको चरण पार गरेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस मार्फत सूचना पठाइ सकिएको छ। राति साढे १ बजेको मापनमा नदीको बहाव खतराको नजिक पुगेको थियो।

इलामको मैनाचुली मापन केन्द्रको मापन अनुसार राति साढे १ बजे नदीको बहाव ३.८८ एमएम रहेको छ। ३.८ नाघेपछि चेतावनी चरण पार  हुन्छ र त्यो खतरा नजिकको संकेत हो।

खतराको तह पार गर्न ४.३ एमएम पार गर्नुपर्छ। बिहान ३ बजे नदीले उक्त लेवल पार गरेको हो।

कनकाईको बङ्गालो शिवसताक्षी ६ को बस्तीमा पसेको छ। त्यहाँका १५ घर विस्थापित भएका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखिएको वडाध्यक्ष मनोज कार्की खुलालले बताए। त्यहाँ १ सय ५० घर जोखिममा परेको शिवसताक्षी रेडक्रस सभापति नारायण दाहालले बताए।

त्यसैगरी कनकाई बस्तीमा पस्दा झापा गाउँपलिका १ को मिलनबस्ती र पूर्वटोलमा पस्दा ४० घर डुबानमा परेका छन्। वडाध्यक्ष राजकुमार यादवका अनुसार दुई वर्ष अघि बाँधिएको बाँधमा कटान सुरु भएको छ। पश्चिमतर्फबाट बगेको माई नदी धार परिवर्तन गरी पूर्वतर्फ बगेपछि बाँध कटान भएको हो।

दुई हजार २ सय ५० मिटर लामो टप्पु र जनता टोलमा रहेको अस्थायी बाँधमध्ये लगभग ३ सय मिटर कटान भएको जनताको तटबन्धन कार्यक्रम गैंडेका इन्जिनियर यादव बरालले बताए। 

वर्षासँगै कनकाइ माईमा आएको बाढीले झापा गाउँपालिकाका चार वटा वडा जोखिममा परेका छन्।  जनताको तटबन्धन अन्तर्गत माइ खोलामा बाँधिएको अस्थायी बाँध बाढीले कटान सुरु गरेपछि ती वडा जोखिममा परेका हुन्। झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले कटानका कारण स्थानीय त्रसित बनेको बताए।

पूर्णरूपमा बाँध फुटेमा झापा गाउँपालिकाका १,२,३ र ७ नम्बर वडा प्रभावित हुने साहले बताए। अहिलेसम्ममा झापा गाउँपालिका ७ मदरगाछका १७ घर परिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको वडासचिव नेत्र उप्रेतीले जानकारी दिए।

त्यस्तै कनकाई नदीमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका १ होकलबारीका २५  परिवार विस्थापित बनेका छन्। १२ घर जोखिममा परेका छन्। विस्थापित हुने १० परिवार भाकुरमारीका हुन्। 

विस्थापित बन्नेहरुमा रामजीत मुर्मू, लालप्रसाद राई र दिलीप राई लगायतको परिवार विस्थापित बनेकाे छ। डुबानमा परेका उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गौरीगञ्ज १ का वडा सदस्य राजभक्त सुनुवारले बताए।

मेची नदीले बगाउँदा भद्रपुर नगरपालिका ३ का हिरण राई बेपत्ता भएका छन्। भद्रपुर ३ नाउँघाटस्थित मेची खोलामा उनी बेपत्ता भएका हुन्।  शनिबार नुहाउने क्रममा बिरिङ खोलाले बगाएका गाउँपालिका-५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको थियो।  


Leave a Reply

Your email address will not be published.