भीड बढेपछि प्रहरीको सचेतना र्याली
सरकारले जारी गरेको लकडाउन खुकुलो हुँदै जाँदा बजारमा मानिसको चहलपहल बढेसँगै नागरिकलाई सचेत गराउन प्रहरी जुटेको छ।
विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस फैलन नदिन सरकारले जारी गरेको लकडाउन खुकुलो हुँदै गएपछि बढ्दो भीडभाडमा नागरिकलाई सचेत गराउन धनगढीमा प्रहरीले सचेतना र्यालीसहितको गतिविधि थालेको हो।
भीडमा धेरै नागरिकले कोरोना संक्रमणलाई बिर्सेजस्तै गरी काममा लाग्न थालेकाले प्रहरीले सचेतनामूलक कार्यक्रम गरेको कैलालीका प्रहरीका प्रवक्ता प्रतीक विष्टले बताए।
‘धेरै नागरिकले कोरोना भाइरस र त्यसबाट बच्ने उपायका बारेमा जानकारी प्राप्त गरिसकेका छन्,’ विष्टले भने, ‘कार्यव्यस्तताले कहिलेकाहीं भुलेका हुन्छन्, प्रहरीले नै ती नागरिकलाई सचेत गराउन थालेको छ।’
नागरिकलाई सचेत गराउने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय कैललीले धनगढी बजारमा र्यालीसँगै माइकिङ गरेको छ।
र्र्यालीमा ‘कोरोना संक्रमणबाट बच्न अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, निस्कनै परे अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, अर्को मानिसबाट कम्तीमा २ मिटरको दूरीमा बसेर काम गर्ने, पटक-पटक साबुनपानी वा सेनिटाइजरको प्रयोग गरेर हात सफा गर्ने, हाच्छियुँ गर्दा कुहिनोले नाक छोप्ने’, जस्ता सूचनामूलक पम्प्लेट बोक्दै माइकिङ गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीको गेटबाट सुरु र्याली सहिद गेट चटकपुरमा सकिएको छ।