बलात्कार आरोपीलाई संक्रमण पुष्टि,  हिरासत कक्ष सिल

बलात्कार आरोपीलाई संक्रमण पुष्टि,  हिरासत कक्ष सिल

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बलात्कार आरोपमा पक्राउ परेका ३६ वर्षीय एक थनुवामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार वीरेन्द्रनगर निवासी ती पुरुषमाथि हाडनाता पर्ने एक महिलालाई करणी गरेको आरोप छ। 

असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ परेका उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको थियो।

जिल्ला अदालतको आदेशपछि असार २० गते पोलिमेरिज चेन रियाक्सन (पिसिआर) जाँच गरिएको थियो। पिसिआर जाँचपछि असार २६ गते ती व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको हो।

थुनुवामा कोरोना संक्रमण देखिएपछि पीडित र पीडकको सम्पर्कमा रहेका २३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको एसपी भट्टले जानकारी गराएका छन्।

थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालयको हिरासत कक्ष सिल गरिएको छ।

अदालतमा मुद्दा दर्ता गर्ने बेला हाजिर गराउने गरेर उनलाई आइसोलेसनमा पठाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.