उपत्यकामा काेराेना संक्रमित राख्न ३ हजार आइसोलेसन बेड, उपचार रणनीति फेरिँदै

उपत्यकामा काेराेना संक्रमित राख्न ३ हजार आइसोलेसन बेड, उपचार रणनीति फेरिँदै

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ। 

उपत्यकामा देखिएको संक्रमितलक्षित गरेर सरकारले ३ हजार आइसोलेसन कक्षको निर्माण प्रक्रिया अगाडि बढाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित खरिपाटी, कीर्तिपुरको आयुर्वेद औषधालय र मनमोहन अस्पताल सीतापाइलामा गरी ३ हजार आइसोलेसन बेडको निमार्ण गर्ने तयारी अघि बढाएको हो। 

खरिपाटीको क्वारेन्टाइनलाई अब आइसोलेसन सेन्टरमा प्रयोग गर्न लागेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए। 

लक्षण नदेखिएका तथा सामान्य समस्या भएका संक्रमितलाई तीनमा ठाउँमा राख्न लागिएको उनले जानकारी गराए। 

उक्त स्थानमा रहेका संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मी निगरानीमा रहने छन्। 

उपचार रणनीति फेरिँदै

उपत्यकामा संक्रमित दर बढेपछि अस्पतालमा उपचार रणनीति फेरिएको मन्त्रालयले जनाएको छ। 

कोेरोना भाइरस संक्रमणको लक्षण भएका र दीर्घरोगीलाई मात्र अस्पताल भर्ना गरिने भएको छ। 

गम्भीर समस्या भएका र दीर्घरोगीका बिरामीलाई उपचारमा प्राथमिकतामा राखिने डा. अधिकारीले जानकारी दिए।

‘लक्षण नदेखिएका तर कोरोना संक्रमणको पुष्टि भएकालाई आइसोलेसन सेन्टरमा राख्छौं,’ उनले भने, ‘लक्षण देखिएका वा गम्भीर समस्या भएका व्यक्तिहरूलाई मात्र अस्पताल भर्ना गरिन्छ।’

३ सय ४१ को संक्रमण पुष्टि

उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसबाट ३ सय ४१ जनाको संक्रमण पुष्टि भएको छ। 

काठमाडौंमा २ सय २७ जना, ललितपुरमा ७० जना र भक्तपुरमा ४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ। २ सय भन्दा बढी संक्रमित विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। 

कोरोना संक्रमितको उपचारका लागि उपत्यकाका विभिन्न  अस्पतालमा ४ सय ५९ वटा आईसियु बेड र २ सय ५ भेन्टिलेटर बेडको तयारी अवस्थामा रहेको मन्त्रालयको दाबी छ। 

क्रिटिकल केयर तालिम पाएका ५ सय ९१ जना र ४३ वटा एम्बुलेन्स सञ्चालित रहेको मन्त्रालयले जनाएको छ। 

कोरोना भाइरस संक्रमितको उपचारका लागि उपत्यकामा तीनवटा विशेष अस्पताल भने दुइटा हब अस्पताल र २४ वटा निजी अस्पताललाई तोकेको छ। 

कोरोना विशेष अस्पतालमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) छुट्याएको छ।

टेकुमा सात भेन्टिलेटरसहित  २० आइसियु बेड, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा २० बेड क्षमता र पाटन अस्पतालमा २१ बेडको आइसियू रहेको छ।

उपत्यकाका निजी अस्पतालमा समेत भेन्टिलेटरसहितको आईसियू बेड तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ। 

कुन अस्पतालमा कति आइसोलेसन बेड? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि उपत्यकामा ४ सय ८१ वटा आइसोलेन बेड छुट्याएको छ। 

बलम्बुको सशस्त्र प्रहरी कोरोना विशेष अस्पतालले १२० बेड, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बेड, काठमाडौं मेडिकल कलेजले ५० बेड, ह्याम्स अस्पतालले ३० बेड, आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ अस्पतालले २४ बेड, काठमाडौं मेडिकल कलेज दुवाकोटले २४ बेड, किस्ट मेडिकल कलेजले २० बेड, ग्रान्डी अस्पतालले १९ बेड, नर्भिक अस्पतालले १५, वीर अस्पतालले १५, मेडिसिटीले १५ बेड, चिरायु अस्पतालले १४ बेड, डा.उपेन्द्र देवकोटा अस्पतालले १२, भक्तपुर अस्पतालले १०, वीरेन्द्र सैनिक अस्पतालले १० बेड, नेपाल मेडिकल अस्पताल अत्तरखेलले १०, त्रिवि शिक्षण अस्पतालले ८ बेड, पाटन अस्पतालले ६ बेड, अल्काले ५ बेड, सुमेरुले ५ बेड, बिएन्डबीले ५ बेड, बयोधा अस्पतालले ५ बेड, गणेशमान अस्पतालले ५, सिभिल अस्पतालले २ र स्टार अस्पतालले २ बेड छुटएका छन्। 


Leave a Reply

Your email address will not be published.