बाढीपहिरो प्रभावितलाई राहत, उद्दार र पुनर्स्थापना गरियोस्: राष्ट्रिय सभा अध्यक्ष
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी तथा पहिरो प्रभावित परिवारलाई तुरुन्त उद्धार, राहत र पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
अध्यक्ष तिमिल्सिनाले आइतबार विज्ञप्ति जारी गरी बाढी र पहिरोमा परी परिवारका सदस्य गुमाएका नागरिकलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्।
‘परिवार र तथा विपदको जोखिममा परेको बस्ती संरक्षणमा तदारुकताका साथ लाग्न नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार तथा सम्बद्ध अधिकारीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ तिमिल्सनाले भनेका छन्।
साथै संघीय संसद अधिवेशन अन्त्य भएकाले राष्ट्रिय सभाका सबै सदस्यहरूलाई आ-आफ्नो क्षेत्रमा आवश्यक सहयोग, समन्वय गर्न पनि तिमिल्सिनाले अनुरोध गरेका छन्।
अझ केही समय मनसुन सक्रिय रहने हुँदा सचेत, सजग र सुरक्षित रहन अध्यक्ष तिमिल्सिनाले आह्वान गरेका छन्।