नक्कली भाञ्जा बनाएर मिर्गाैला किनबेच- डाक्टर, वडाध्यक्ष र पूर्वप्रहरी पक्राउ
मानव अंग किनबेच गरेको आरोपमा पक्राउ परेका चितवनस्थित कलेज अफ मेडिकल साइन्सेसका तीन चिकित्सक, ललितपुर महानगर ३ का वडाध्यक्षसहित १२ जनालाई प्रहरीले अनुसन्धान म्याद थपका लागि अदालत पेस गरेको छ।
५५ वर्षे एक पुरुषका लागि नक्कली भान्जा बनाएर ती व्यक्तिको मिर्गौला झिकी प्रत्यारोपण गरेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूराेकाे टोलीले चितवन र काठमाडौं उपत्यकाबाट उनीहरुलाई पक्रउ गरेको थियो।
पक्राउ परेका प्रत्यारोपण सर्जन डा. राकेश बर्मा, अस्पतालका सिइओ डा. सुप्रभात श्रेष्ठ, अस्पतालको समितिका संयोजक डा. बालकृष्ण कालाखेतीसहित १२ जना संलग्न रहेको मानव बेचविखन अनुसन्धान ब्यूराेका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
ब्यूराेका अनुसार पक्राउ पर्ने अन्यमा चितवन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले छन्।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन र जिल्ला प्रशासन कार्यलय ललितपुरका दुई कर्मचारी छन्। उनीहरूले ललितपुरमा बसेर अंगदाताको नक्कली कागतपत्र तयार पारेका थिए। वास्तविक भान्जा विदेशमा भए पनि कागजपत्र तयार पारी फोटोसमेत टाँसेर दाताबाट मिर्गौला किनबेच गरेका थिए।
प्रहरीले अंग किनबेचनमा मध्यस्तता गरेको आरोपमा पूर्व प्रहरी नायब उपरीक्षक योगेन्द्र थपलिया, पूर्व प्रहरी हिम प्रसाईं र रेश्मा राईलाई समेत पक्राउ गरी अदालत पेस गरेको छ।
प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न अदालत पुर्याएको र आरोपीका तर्फबाट धेरै अधिवक्ताबाट बहस चलिरहेको प्रहरी स्रोतले जनाएको छ।