६५ लाख लागत अनुमान गरिएको मन्दिर ३८ लाखमा बन्यो

६५ लाख लागत अनुमान गरिएको मन्दिर ३८ लाखमा बन्यो

भक्तपुरको टौमढीस्थित न्यातपोल (पाँचतले) मन्दिरको ३८ लाख ५० हजारमा छाना छाउने काम सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाले मन्दिर निर्माणका लागि ६५ लाख १३ हजार ३ सय ५८ लागत इष्टमेट गरेको थियो। 

ङातापोल मन्दीर संरक्षण कार्य उपभोक्ता समितिका अध्यक्ष केशव मन्दिरका लागि जम्मा लागत ६५ लाखको लागत इष्टमेट भए पनि स्थानीयको सहयोगका कारण इष्टमेट भन्दा निकै कम लागतमा काम सकिएको बताइएको छ। 

मन्दिरका लागि स्थानीय स्तरबाट १२ लाख ८० हजार रकम उठेको उनले जानकारी दिए। श्रमदान मात्र ४ हजार १ सय ३५ जनाले गरेको उनले सुनाए। उनले भने, 'बजेट ६५ लाख भए पनि श्रमदान, आर्थिक सहयोग र झिंगटी इटाँको सहयोग आएको छ। त्यसकारण इष्टमेटभन्दा कम बजेटमा काम सकिएको हो।

ङातापोल मन्दिर संरक्षण कार्य उपभोक्ता समितिका सदस्य (ज्यामीनायो) पूर्णगोपाल राजचलले लकडाउनको समय भएकाले पनि श्रमदान धेरै भएको बताए। साथै उनले छाना छाउने काम सम्पन्न भएको र केही दिन काम बाँकी रहेको जानकारी गराए।

मन्दीरको पुननिर्माण २०७६ मंसिर ६ गतेबाट सुरु भएको थियो। त्यसपछि कोभिड–१९ को लकडाउनका कारण चैत ११ गतेदेखि काम बन्द गरेको थियो। तर, पछिल्लो पटक फेरि लकडाउनकाबीच नै मन्दिर पुननिर्माणको काम सुरु भएको थियो। मन्दीरमा २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो। 

भक्तपुरमा यो मात्र नभई पाँचतल्ले मन्दीरको अगाडिको भैरवनाथको मन्दीरको जीर्णद्धारका लागि एक करोड ४६ लाख ३६ हजार ७ सय ४५ रुपैयाँ १३ पैसा लागत छुट्याइएको थियो। लागतभन्दा निकै कम अर्थात ५६ लाख ३९ हजार २०७ रुपैयाँ २५ पैसामा भैरवनाथको जिर्णोद्धार सकिएको थियो। 

त्यस्तै भक्तपुरको जेंला पोखरीको लागत अनुमान १४ लाख थियो, तर खर्च भने १० लाख रूपैयाँ मात्रै भएको थियो। ठेक्कामा नभई जनताकै सहभागितामा जनश्रमदान, चन्दा संकलन गरी निर्माण गरिने भएकाले यहाँ लागत इष्टमेटभन्दा निकै कममा काम हुँदै आएको हो।

त्यस्तै महालक्ष्मी पाटी वा काति फल्चाको पुनर्निर्माणका लागि अनुमान रकम ३९ लाख रूपैयाँ रहेकोमा खर्च ३० लाख ४७ हजार ५ सय भएको थियो। साकोलानस्थित ताहा फल्चा पाटीका लागि अनुमानित रकम २४ लाख, ८१ हजार ८ सय ९० रूपैयाँ, खर्च २२ लाख ४० हजार ४ सय ७० रूपैयाँ, ब्यासी टोलका झ्याल भएका लागि अनुमान रकम २९ लाख ९२ हजार ७ सय ५६ रूपैयाँ, खर्च १४ लाख ९० हजार ६ सय ५६ रुपैयाँ र ब्यासी टोलका ढोका बाहिरको पाटीका लागि अनुमानुमानित रकम १६ लाख ५० हजार, खर्च १४ लाख ३७ हजार ३ सय ५७ रुपैयाँमा सम्पन्न भएको जनाइएको छ। 

भक्तपुरका अधिकांश कामहरू उपभोक्ता समिति अन्तर्गत हुने गरेको छ। 


Leave a Reply

Your email address will not be published.