प्रदेश ५ मा सलहको दुई झुण्ड देखियो

प्रदेश ५ मा सलहको दुई झुण्ड देखियो

प्रदेश ५ को सलहको नयाँ दुइटा झुण्ड देखिएको छ। भारतको उत्तर प्रदेशका सीतापुर र बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एक झुण्ड नेपाल प्रवेश गरेको बताइएको छ।

दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ दुइटा झुण्ड देखिएको प्रदेश ५ कृषि  निर्देशानालयले जनाएको छ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको प्रदेश ५ को कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले बताए ।

उनका अनुसार दाङमा दुइटा सलहका झुण्ड देखिएका हुन्। यसअघि भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानले बताएका छन्। किरा फैलिएर मकैबालीमा बसेका छन् र सलह धपाउन किसानले भाँडा ठटाउने, धूवाँ लगाउने काम गरेको स्थानीय कृषि ज्ञान केन्द्रलाई उद्धृत गर्दै देवकोटाले बताए।

दाङ जिल्लाको गढवा गाउँपालिकाको वडा २ र ३ मा प्रवेश गरेको छ भने दिउँसो राप्ती नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको थियो। तर ती स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरेर बस्न नदिएपछि त्यो झुण्ड उत्तर-पूर्वतर्फ लागेको कृषि निर्देशनालय प्रदेश ५ की बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिइन्। तर गढवामा देखिएको झुण्डको विषयमा भने अझै यकिन भइ नसकेको उनको भनाइ छ ।

त्यसैगरी एउटा झुण्ड दाङ हुँदै प्यूठान प्रवेश गरेको प्यूठानका स्थानीयले बताएका छन्। सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको उनीहरूको भनाइ छ। माडी नदी किनारै किनार सलह माण्डवी गाउँपालिकातर्फ लागेको छ।

आकाशमा सलह देख्‍नासाथ किसानहरूले खेतबारीमा गएर भाँडा ठटाएर र आगो बालेर धूवाँ निकालेर सलह भगाउने प्रयास गरेका थिए। प्युठान पुगेको सहलको झुण्ड राप्ती गाउँपालिकाबाट प्रवेश गरेको आँकलन गरिएको छ।

करिब एक साताअघि आएको सलहले जिल्लाको सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका किसानको मकै बालीमा क्षति पुर्याएको थियो।


Leave a Reply

Your email address will not be published.