मास्क लगाएका ट्रम्प 

मास्क लगाएका ट्रम्प 

‘मास्क केही होइन, यसले कोरोना छेक्दैन’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः मास्क लगाएर देखिए। 

कोरोना भाइरसको संक्रमण र मृत्यदर निकै उच्च विन्दूमा पुग्दासम्म पनि मास्कको प्रभावकारितामाथि प्रश्न उठाउँदै ट्रम्प संसारभरि हाँसो र आलोचनाको पात्र बने। 
कोरोना विश्व महामारी सुरु भएपछि पहिलो पटक सार्वजनिकरुपमा मास्क लगाएर देखिएका छन्। 

शनिबार साँझ वासिङ्गटन क्षेत्रबाहिर अवस्थित वाल्टर रिड सैनिक अस्पतालमा स्वास्थ्यकर्मीलाई भेट्न जाँदा उनले पहिलो पटक मास्क लगाएका हुन्। ती स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचार गर्दागर्दै आफैं संक्रमित भएका हुन्। 

सार्वजनिकरुपमा पहिलो पटक मास्क लगाएको अवस्थामा कैद गरिएको उनको फोटोलाई अहिले संसारभरिका अन्तराष्ट्रिय समाचार माध्यमहरुले प्राथमिकता दिएका छन्। 

‘म कहिल्यै पनि मास्कको विरुद्ध थिइनँ। मैले जहिले पनि यसको प्रयोगको लागि उपयुक्त समय र स्थानको वकालत गरेका हुँ,’ ह्वाइट हाउसबाट निस्कनुअघि उनले भनेका थिए। 

तर बिगतमा उनले आफू कहिल्यै मास्क नलगाउने भन्दै मास्क लगाउने आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनको मजाक उडाएका थिए। 

‘मलाई लाग्छ जब तपाईं अस्पतालमा हुनुहुन्छ र घाइते सैनिकहरुसँग कुरा गर्दै हुनुहुन्छ अथावा कुनै अवस्थामा त तपाईं भर्खरै शल्यक्रिया कक्षबाट बाहिर ल्याइएको बिरामीलाई हेर्दै हुनुहुन्छ भने यो अवस्थामा मास्क अति नै उपयोगी हुन्छ,’ पहिलोपटक मास्क लगाएपछि उनले भनेका छन्। 

गत सातामात्रै फक्स न्यूजसँग कुरा गर्दै उनले ‘म सबै खाले मास्कको पक्षमा छु’ भनेका थिए। 

तर गएको अप्रिल महिनामा यूएस सेन्टर फर डिजिज कन्ट्रोलले आम नागरिकलाई मास्कको प्रयोग गर्न सुझाव दिँदा राष्ट्रपति ट्रम्पले भने पत्रकारहरु समक्ष सो सुझावलाई नपछ्याउने प्रतिक्रिया दिएका थिए। 

‘मलाई लाग्दैन कि म मास्कको प्रयोग गर्छु’, उनले त्यो बेला भनेका थिए ‘मास्क लगाएर राष्ट्रपति, प्रधानमन्त्री, तानाशाह, राजा, रानी लगायतलाई अभिवादन गर्ने काम मबाट हु“दैन।’
केही सञ्चारमाध्यमले भने अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भइरहेकोले राष्ट्रपति ट्रम्पलाई उनका सहायक एवं समर्थकहरुले सार्वजनिक स्थलमा मास्कको प्रयोग गर्न सुझाएको जनाएका छन्। 

पछिल्लो केही सातायता राष्ट्रपति ट्रम्पको समीपका मानिसमा कोरोना भाइरस पोजिटिभ देखिएको छ। 

उनकै छोरा डोनाल्ड जुनियरकी प्रेमिका किमबर्ली गेफोइलमा कोभिड–१९ पुष्टि भएका कारण हाल यी जोडीलाई क्वारेण्टाइनमा राखिएको छ।  

अनुवादित सामग्री
 


Leave a Reply

Your email address will not be published.