साझा पार्टीबाट बाहिरिए आचार्य र खनाल, विवेकशीलसहितका दलसँग एकता गर्न संवाद समिति
रवीन्द्र मिश्र नेतृत्वमा रहेको साझा पार्टीबाट केन्द्रीय सदस्य तथा प्रवक्ता डा. सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले राजीनामा दिएका छन्।
पार्टीका सबै जिम्मेवारीबाट अलग रहने गरी उनीहरूले पार्टीलाई राजीनामा बुझाएका थिए। पार्टीले उनीहरूको राजीनामा स्वीकृत गरिसकेको छ।
पार्टीले पुन: विवेकशील नेपाली दलसँग एकता गर्ने तयारी थालेको स्रोतले जनाएको छ। पार्टी एकताका लागि विवेकशील र साझा पार्टीले छुट्टा छुट्टै कार्यदल गठन गरिएको छ।
साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको अनलाइन बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ। साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्यले पार्टीका सबै जिम्मेवारी त्यागी पार्टीको संरचनाभन्दा अलग बसेर वैकल्पिक पार्टी निर्माणमा भूमिका निर्वाह गर्न गरेको प्रस्तावलाई स्वीकृत गरेको बताए।
‘आचार्यले पार्टीको स्थापना र निर्माणमा पुऱ्याउनुभएको योगदानप्रति बैठकले गहिरो आभार प्रकट गऱ्यो। उहाँको नयाँ भूमिकाका लागि शुभकामना व्यक्त गऱ्यो। र, आवश्यक पर्दा पार्टीलाई सहयोग गर्ने उहाँको वचनवद्धताको सम्मान गर्दै कुनै पनि बेला उहाँ पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ परियारले भने।
पार्टीका केन्द्रीय सदस्य मुमाराम खनालले व्यक्तिगत कारण जनाइएको राजीनामा स्वीकृत गरेको परियारले बताए। ‘खनालले पार्टी स्थापना र निर्माणमा पुऱ्याउनुभएको योगदानप्रति बैठकले गहिरो आभार प्रकट गऱ्यो, आवश्यक पर्दा पार्टीलाई सहयोग गर्ने उहाँको वचनवद्धताको सम्मान गर्दै कुनै पनि बेला उहाँ पार्टीको संरचनामा जोडिन चाहेको खण्डमा पार्टीले खुला हृदयले स्वागत गर्ने प्रतिवद्धता जनायो, र उहाँको भावी मार्गका लागि शुभकामना व्यक्त गऱ्यो,’ उनले भने।
पार्टीले समान सोच र विचार भएका पार्टी, समूह र व्यक्तिहरूसँग एकताको प्रक्रियालाई अघि बढाउन बागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय ‘राजनीतिक संवाद समिति’ गठन गर्ने निर्णय गरेको नेता परियारले बताएका छन्।