साउनदेखि नै ‘क्लिन फिड’ लागू गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र
तत्काल क्लिन फिड नीति लागू गर्न माग गर्दै विभिन्न चार संस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्।
मन्त्रीपरिषद्ले ०७३ साउन ७ नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो। कार्यान्वयन भएको छैन।
नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, नेपाल विज्ञापन संघका अध्यक्ष, रबीन्द्रकुमार रिजाल (शशी), ब्रोडकाष्टिंग एशोशिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपाने र सामुदायिक रेडियो प्रसारक संघ (एक्युर्यावका अध्यक्ष सुवास खतिवडाले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्।
यसअघि आगामी कात्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई अब साउन १ गतेदेखि नै लागु गर्नु माग गरिएको छ।
यो नीति लागू भएमा स्वदेशी उत्पादन र उद्योगलाई समेत सहयोग र विस्तारका लागि प्रवद्र्धनन गर्न यी संघसंस्थाको माग छ।
‘विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनु पर्दछ भन्ने नै हो। विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम (केवल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युव लगायत डिजिटल प्यलटफर्म) भन्ने पनि स्पष्ट गरिनु पर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ।
नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय सञ्चार माध्यमबाट नेपाल, प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर कपोलकल्पित, सामग्री सम्प्रेशण भयो।
‘अहिले अझ बिदेशी राजदुतसँग नेपाली नेताहरुलाई समेत जोडेर एकदम तल्लो स्तरको टिप्पणी पनि गर्न थालेका छन्। यस्ता घटनाप्रति हामी घोर भत्र्सना गर्दै खेद प्रकट गर्दछौं। भारतीय मिडियाहरुको नेपालप्रतिको रबैयाले एकातिर पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता, अभ्यास र सामान्य सिद्धान्तको खिल्ली उडाएको छ, भने अर्कोतिर भारतीय मिडियाले आफैलाई नंग्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।