तनहुँ पहिरो अपडेट: एकको मृत्यु, १० जना बेपत्ता

तनहुँ पहिरो अपडेट: एकको मृत्यु, १० जना बेपत्ता

तनहुँमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।

निरन्तर वर्षाका कारण सोमबार बिहान गएको पहिरोमा पुरिएर म्याग्दे गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको हो। 

जिल्लाका विभिन्न ठाउँमा खसेको पहिरोमा पुरिएर १० जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सनाले आयोमेललाई जानकारी दिए। 

बेपत्ताको खोजी कार्य जारी रहेको छ। पहिरोमा पुरिएर रिसिङ गाउँपालिकाका एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। त्यस्तै व्यास नगरपालिका–९ मा पाँच जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन्।

रिसिङ-८ पल्ट्याङमा पहिरोले पुरिँदा स्थानीय ज्योतिमाया थापाका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर घाइते भएकी ज्योतिमायालाई उपचारका लागि पोखरा पठाइएको रिसिङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर थापाले जानकारी दिए। 

‘एकै ठाउँमा दुई वटा घर छन। नयाँ घरमा सुत्नुभएका पाँच जना हराउनुभएको हो। हामीले उहाँहरुको खोजी गरिरहेका छौं,’ घटनास्थलमा रहेका थापाले भने। 

पहिरोले पृथ्वीराजमार्ग अन्तर्गत दमौली खण्ड अवरुद्ध भएको छ भने ठाउँठाउँमा बिजुलीको पोल ढलेको छ।

अहिले राजमार्गमा खसेको पहिरो हटाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीे बद्रिनाथ अधिकारीले जानकारी दिए। 

सम्बन्धित समाचार : तनहुँको रिसिङमा पहिरोमा पुरिएर पाँचजना बेपत्ता


Leave a Reply

Your email address will not be published.