तनहुँ पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो, पाँच अझै बेपत्ता
तनहुँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। व्यास नगरपालिकामा चार, रिसिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको हो।
रिसिङमा चार र व्यासमा एक गरी अझै पाँचजना बेपत्ता छन्। रिसिङ गाउँपालिका-८ पल्ट्याङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक युवकको शव भेटिएको हो।
गाउँपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार २८ वर्षे भेषबहादुर थापाको शव भेटिएको हो। उनको घरका अरु चार सदस्यको खोजी भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए।
म्याग्दे गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी विकको भने उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। पहिरोमा हराइरहेका व्यास-११ का पुरुषको खोजी भइरहेको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए।
निरन्तरको वर्षाका कारण सोमबार बिहान गएको पहिरोमा पुरिएर व्यासमा र रिसिङमा पाँच-पाँचजना बेपत्ता भएका थिए। आइतबार बेलुकादेखि परेको वर्षाले जिल्लाका विभिन्न ग्रामीण सडक पनि अवरुद्ध भएका छन्।