मालपोत अधिकारीको मिलेमतोमा हदबन्दी रोक्का राखेको ३२ बिघा सरकारी जग्गा बिक्री
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्क्ली जग्गाधनी खडा गरेर नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने जग्गा बिक्री गरेको अभियोगमा नवलपरासीका तत्कालीन मालपोत अधिकृत टीकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
१३ जनाविरूद्ध ३२ बिगाहा २ कठ्ठा १७.२५ धुर जग्गा घोटाला गरेको आरोपमा अख्तियारले जनही ५ करोड ५ लाख ४२ हजार बिगो कायम गरी अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामा तत्कालीन भूमिसुधार अधिकृत ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल, कम्प्युटर अपरेटर सुवा खड्का, खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र रेगमी गाउँपालिका-५ का रविकुमार खत्री छन्।
नवलपरासी साबिक सनई गाविस वडा नम्बर ८ को कित्ता नम्बर १२१, २५१ र २९७ मा हदबन्दी रोक्का रहेको जग्गा किर्ते गरी तीन परिवार संख्यामा कायम गरी बिक्री गरेको अनुसन्धानमा देखिएको अख्तियारको भनाइ छ।
उक्त जग्गा भारतीय नागरिक अनुप मेहराबाट बिक्री गरेको खुलेपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरूउपर हानी नोक्सानी गरेको सरकारी जग्गा फिर्ता साथै जरिवाना तथा कैद माग गरिएको अख्तियारले जनाएको छ।