गुड्न थाले बस 

गुड्न थाले बस 

केही समयअघिसम्म यातायात व्यवसायी ‘बस चलाउन पाउनुपर्‌यो’ भन्दै सरकारसँग रोइकराइ गरे। 

कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै चैत ११ देखि लगातार लकडाउन छ र, सार्वजनिक गाडी चल्न पाएका छैनन्। केही समयअघि निजी सवारी चलाउन अनुमति दिइएको थियो। 

अघिल्लो साता सरकारले ‘कोरोना संक्रमण सुरक्षाका सबै उपाय अपनाएर’ सार्वजनिक यातायात चलाउन दिने निर्णय गर्‌यो। 

फेरि, व्यवसायीले यातायात चलाउन मानेनन्। उनीहरुले भने ‘बैंकको ऋण तिर्न सकिएको छैन, गाडी बिग्रेका छन्। सरकारले राहत नदिँदासम्म गाडी चलाउँदैनौँ।’

यो यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वान थियो। 

सरकारले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न भनेको थियो र, ५० प्रतिशत भाडा पनि लिन अनुमति दिएको थियो। तर, व्यवसायीले सरकारको यो आग्रहलाई टेरेनन् र गाडी चलाउँदैनौँ भने। 

तर, सोमबारदेखि राजधानीका सडकमा विभिन्न प्रालिका बसहरु गुड्न थालेका छन्। बिहानैदेखि मयुर यातायातले रिङ रोडमा गाडी गुडायो। यो प्रालिसँग ४० वटा बसहरु छन्। 

तीन महिनासम्म चल्न नपाएपछि ती सबैजसो गाडी पार्किङमै थन्किएका छन्। 

‘महासंघले नचलाउने त भनेको थियो। तर, हामी अब कतिदिन गाडी थन्क्याएर राख्ने? सबै गाडी बिग्रिसके। बनाउने पैसासमेत छैन’ प्रालिका एकजना बसधनी श्रेष्ठले भने ‘नचलाएर के गर्नु? सरकारले पनि चलाउन भनेकै छ त।’

सोमबार मयुर यातायात अनि संयुक्त यातायातका बसहरु सडकमा गुडिसकेका छन्। 

सुन्दर यातायात प्रालिले मंगलबारबाट बस चलाउने भएको छ। प्रालिसँग भएका चारवटा गाडी भोलिबाट राजधानीका सडकमा चल्ने अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार प्रालिले सरकारले थप गरिदिएको ५० प्रतिशत बढी भाडा पनि लिने छैन। 

‘सरकारको निर्णय बमोजिम मंगलबारबाट बस सञ्चालनान ल्याउछौँ यसबाट सर्वसाधारणका साथै प्रालिलाई पनि फाइदा हुन्छ’, अध्यक्ष थापाले भने,‘सरकारले बढाएको भाडा समेत नलिई पुरानै भाडामा सेवा दिन्छौं।’

साउन १ गतेदेखि साझा यातायातले बस गुडाउने तयारी थालिसकेको छ। 


Leave a Reply

Your email address will not be published.