तनहुँको स्याम्घामा वर्षाको रेकर्ड ब्रेक

तनहुँको स्याम्घामा वर्षाको रेकर्ड ब्रेक

तनहुँ जिल्लाको स्याम्घा क्षेत्रमा हालसम्मकै सर्वाधिक वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार स्याम्घा स्वचालित केन्द्रमा पछिल्लो २४ घन्टामा २७७.६ मिलिमिटर पानी परेको छ। यो सोमबार बिहान ८:४५ बजेको मापन हो। त्यहाँ सोमबार साँझ पनि पानी परिरहेकाे छ।

स्याम्घामा सन् २००७ जनवरीमा स्टेशन राखिएको थियो। त्यसयता सर्वाधिक वर्षा सोमबार भएको हो।

‘स्याम्घा त्यतिधेरै वर्षा हुने ठाउँ होइन। सोमबार एतिहासिक वर्षा भएको छ,’ जल तथा मौसम विज्ञान विभाग, हावापानी महाशाखाका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्।

यसअघि सो केन्द्रमा २००७ जुन २० मा सर्वाधिक २४२.२ मिलिमिटर दैनिक वर्षा मापन गरिएको थियो। तर, सोमबार उक्त रेकर्ड ब्रेक भयो। सन् २००८ अगस्ट ३० मा १९३.८ मिलिमिटर वर्षा मापन भएको रेकर्ड छ।

त्यसैगरी २०१५ जुलाई ३० मा १३८ मिलिमिटर, २०१० जुलाई २७ मा १३२.५, २००७ सेप्टेम्बर ६ मा १३२ र २०१४ अगस्टमा १३१ मिलिमिटर वर्षा भएको रेकर्ड छ। त्यस्तै २०१८ जुलाई ३ मा १२६.१ मिलिमिटर, २०१२ जुन २४ मा १२४ मिलिमिटर र २०११ जुलाई १ मा ११७ मिलिमिटर वर्षा भएको थियो।

नेपालमा हालसम्म सबैभन्दा बढी मकवानपुरमा वर्षा भएको रेकर्ड छ। त्यहाँ सन् २०१७ अगस्ट १३ मा २४ घन्टामा ५१६.२ मिलिमिटर वर्षा भएको थियो। 

नेपालमा गत बुधबारबाट लगातार जसो वर्षा भइरहेको छ। वर्षाका कारण डेढ दर्जन बढी जिल्लामा कुनै न कुनै रुपमा क्षति पुगेको छ। आइतबाररातिदेखि तनहुँका विभिन्न क्षेत्रमा पहिरो गएको छ। तनहुँमा हालसम्म १० जनाको मृत्यु भएको छ, २ जना बेपत्ता छन्। 

व्यास नगरपालिका वडा ९, माझफाँट, ऋसिङ गाउँपालिका वडा ८ पट्याङ र म्याग्दे गाउँपालिका वडा ६ बेलौतेडाँडामा ४ घर पुरिएका छन्।


Leave a Reply

Your email address will not be published.