उद्धारका लागि  हेलिकोप्टर र टास्क फोर्स

 उद्धारका लागि  हेलिकोप्टर र टास्क फोर्स

कर्णाली प्रदेशमा बाढीपहिरोको जोखिम न्युनिकरणका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने भएको छ।

बाढीपहिरो पीडितको तत्काल उद्धार र राहत वितरणमा प्रयोग गर्न तीन महिनासम्मका लागि एउटा हेलिकोप्टर तयारी अवस्थामा राखिने भएको हो।

यसका साथै बाढीपहिरोको समयमा प्रदेशका सबै स्थानीय तहमा तत्काल उद्धारका लागि कार्यदल  (टास्क फोर्स) समेत गठन गरिने भएको छ।

सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि उक्त कार्यदलमा रहने निर्णय गरेको छ।

यसका साथै बाढी र पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सार्ने, उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद् प्रभावित समुदायको लागि खाद्यान्न, लत्ता कपडालगायतका वन्दोबस्तीका सामग्री व्यवस्थापन गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले जानकारी दिए।

बाढीपहिरोले निम्त्याउने राजमार्ग अवरुद्ध न्युनिकरणका लागि निश्चित दूरीमा स्काभेटरको व्यवस्था तथा सडक पहुँच भएका स्थानीय तहमा राहत खाद्य सामग्री ढुवानीका लागि तयारी अवस्थामा ट्रकको समेत व्यवस्था गरिएको गौतमले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.