कर्णालीमा विपद बिमा- वर्षभरि दुईजनाकाे मात्रै

कर्णालीमा विपद बिमा- वर्षभरि दुईजनाकाे मात्रै

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६-०७७ चैतबाट नागरिक र प्रदेशमा कार्यरत सरकारी कर्मचारीका लागि कर्णालीमा सामूहिक दुर्घटना बिमा कार्यक्रम लागू गर्‌यो । प्राकृतिक विपद्जन्य दुर्घटनाबाट कसैको मृत्यु भएमा दुई लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी सामूहिक दुर्घटना बिमा कार्यक्रम लागू गरिएको हो । 

कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र कर्णालीमा कार्यरत राष्ट्रसेवक कर्मचारीका लागि एक करोड ५० लाख ९ हजार ६ सय रुपैयाँ खर्चेर प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बिमा कार्यक्रम लागू गरेको हो । 

कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हरेक वर्ष प्रतिव्यक्ति ८ रुपैया ४८ पैसा लगानी गर्ने र त्यसबाट विपदमा परेर ज्यान गुमाएका कर्णालीका नागरिकले प्रतिव्यक्ति दुई लाख रुपैयाँ पाउने नीति छ। 

राष्ट्रिय बिमा कम्पनीसँगको सहकार्यमा लागू गरिएको विपद् बिमा कार्यक्रममा भने हालसम्म दुईजना नागरिकले मात्र बिमा भुक्तानी दाबीका लागि आएका थिए ।

कम्पनीको सुर्खेत शाखाका कार्यालय प्रमुख तोरणप्रसाद सुवेदीले हालसम्म सुर्खेतको पञ्चपुरी नगरपालिकाका दुई नागरिकको मात्र बिमा रकम भुक्तानी दिइएको जानकारी दिए । उनले भने, ‘विपद् बिमा कार्यक्रम सुरु भएसँगै हामीले पत्रपत्रिकामार्फत सूचना दिएका थियौं । तर हालसम्म दुईजना मात्र भुक्तानीका लागि आउनुभएको छ ।’

बिमा कम्पनी मोटाउने

कर्णाली प्रदेश सरकारले सम्झौताबमोजिम प्रतिव्यक्ति ७ रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम बुझाउनुपर्छ । विपद्मा परी घाइते हुनेबारेमा भने यसमा केही उल्लेख गरिएको छैन ।

बिमा कम्पनीमार्फत् राहत दिनुभन्दा सरकारले सिधै विपद्पीडित नागरिकलाई सहयोग गर्नुपर्ने साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालको धारणा छ। उनले भने, ‘कति कर्णालीवासीलाई विपद् बिमाका बारेमा जानकारी नै छैन । नागरिकहरूले यो कार्यक्रममा सहभागी हुन सकिरहेका छैनन् । यसरी दुई–चारजना नागरिकमात्र समावेश हुने कार्यक्रमले बिमा कम्पनी मोटाउने र राज्यकोष रित्तिँदै जाने अवस्था रहन्छ ।

चालु आर्थिक वर्ष २०७६-०७७ को हालसम्म कर्णालीमा प्राकृतिक विपद्का कारण ४१ जनाले ज्यान गुमाएका छन् भने ७५ जना घाइते भएका छन् । विभिन्न समयमा कर्णालीका फरक–फरक स्थानमा आएका बाढीपहिरोका कारण ३३ पटक सडक अवरुद्व भएको छ ।

बर्सेनि प्राकृतिक विपद्ले सताइरहने कर्णालीमा नागरिकहरू ज्यान गुमाउन बाध्य छन् । हरेक आर्थिक वर्षमा अर्बाैं धनजनको क्षति हुन्छ । कर्णालीले २०७६-०७७ मा दुई अर्बौंभन्दा बढी धनजनको क्षति बेहोरेको छ ।

बाढीपहिरो, चट्याङ, हावाहुरी, आगलागी, हिमपहिरोलगायतका विपद्बाट २ अर्ब ६३ करोड १९ लाख २३ हजार २ सय ७ रुपैयाँबराबर जनधनको क्षति भएको कर्णाली प्रदेश प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७६-०७७ मा जाजरकोटमा प्राकृतिक विपद्का कारण १४ जनाले ज्यान गुमाएका छन् । एक आर्थिक वर्षको अवधिभर जाजरकोटको विभिन्न स्थानमा ४५ पटक पहिरो गएको छ । ७६ करोडभन्दा धेरैको धनजन क्षति भएको छ ।

विपद्का कारण सुर्खेतमा तीनजना, दैलेखमा दुई, कालिकोटमा दुई, जुम्लामा दुई, डोल्पामा पाँच, सल्यानमा चार र रुकुम पश्चिममा नौजनाले ज्यान गुमाउनुपरेको कर्णाली प्रदेश प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

वरिष्ठ प्रहरी उपरीक्षक बाँस्तोलाले दिएको जानकारीका अनुसार कुल २ सय ९४ घर बाढीको प्रभावमा परेका छन् । यसका साथै १ सय ३८ वटा पहिरो, ४९ वटा चट्याङका घटना, २ सय १२ हावाहुरीका घटना, एक सय ६० वटा आगलागीका घटना र ७ वटा हिमपहिरोजस्ता विपद्का घटनामा कर्णालीका ४१ जनाको मृत्यु भयो भने ८५ जना घाइते भएका छन् ।


Leave a Reply

Your email address will not be published.