प्रधानमन्त्री ओलीकाे ‘अयोध्या’ अभिव्यक्तिकाे सर्वत्र आलोचना, कसले के भने?
प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा रहेको राम नेपाली राजकुमार थिए भनी दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली अभिव्यक्तिले सीमा नाघेको बताएका छन्। उनले ट्वीटरमा लेख्दै भनेका छन्, ‘आधी-कवि ओलीकृत कलीयुगिन नयाँ रामायण श्रवण गरौं। सिधै बैकुण्ठधामको यात्रा गरौं।’
अर्को ट्वीटमा भट्टराईले ‘ओलीका बचन/कर्मले सीमा नाघ्दैछन्। संसदमा सिंहमेव जयते, बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा उनको चिन्तनप्रणाली स्वस्थ देखिन्न’ भनेका छन्।
भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्गसमेत उनको हातमा रहेको भन्दै अब ओलीलाई छाडा छोड्नु खतरनाक हुने बताएका छन्।
अति गरे खति हुन्छ भन्छन्!प्रम@kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ!उपचार खोजौं! https://t.co/zcxpsGEshn
— Baburam Bhattarai (@brb1954) July 14, 2020
यसैगरी, राप्रपाका अध्यक्ष समेत रहेका पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि ओली अभिव्यक्तिको आलोचना गरेका छन्।
‘प्रमको स्तरबाट यस्ता उटपट्याङ,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन। भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन,’ थापाले ट्वीटरमा लेखेका छन्।
प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ताल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन https://t.co/jzP5hcH4qu
— Kamal Thapa (@KTnepal) July 13, 2020
नेकपा नेता विष्णु रिजालले पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शिर झुक्ने भनी ट्वीट गरेका छन्।
‘अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो। फुर्किपुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा बिरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र हैन, रहस्यमय छ,’ रिजालले लेखेका छन्।
पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।
— Bishnu Rijal (@bishnurijal1) July 13, 2020
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अयोध्या बीरगन्ज नजिक भए सरयू नदी कहाँ छ भनेर प्रश्न गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘धर्म राजनीति र कूटनीतिबाट माथि हो। यो एउटा भावनात्मक विषय हो। अबूझ भाव र यस्ता अभिव्यक्तिबाट केवल आत्मग्लानी हुन्छ। यदि अयोध्या वीरगन्ज नजिक छ भने सरयू नदी कहाँ छ?’
Religion is above politics & diplomacy. Its a highly emotive issue. Ridiculous statements only cause embarrassment. If Ayodhya is near Birgunj, where is the Sarayu river ?
— Ramesh Nath Pandey (@rameshnathpande) July 13, 2020
प्रधानमन्त्री ओलीले सोमबार राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएका थिए। उनले भारतले खडा गरेको अयोध्या नक्कली रहेको र राम पनि नेपाली नै भएको बताएका थिए।