‘वास्तविक अयाेध्या भारतमै छ’

‘वास्तविक अयाेध्या भारतमै छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालकै भूभाग रहेको टिप्पणी गरेपछि चर्को आलोचनासँगै बहस सुरु भएको छ। 

प्रधानमन्त्री ओलीले अयोध्या वीरगन्जभन्दा थोरै पश्चिम ठोरीमा रहेको भनेपछि संस्कृतिविद्का साथै आध्यात्मसम्बन्धी ज्ञान राख्ने व्यक्तिहरूले समेत उक्त भनाइप्रति आलोचना गरेका छन्। 

प्रधानमन्त्री ओलीले सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए। 

प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको कुनै आधार नरहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले टिप्पणी गरेका छन्। महन्त दासले त्रेतायुगदेखि नै अयोध्या अहिले रहकै ठाउँमा रहेको बताए। 

रामका पिता राजा दशरथको राजमहल युगौंंदेखि अयोध्यामा रहेको महन्त दास बताउँछन्। ‘यो आजको कथा होइन त्रेतायुगको कुरा हो, कोसीदेखि नारायणीसम्मको भूभाग मिथिला रहेको धेरैजसो पुराणमा उल्लेखित छ, मिथिलाको केही भाग भारतमा पनि छ,’ दासले आयाेमेलसँग भने, ‘यसैगरी नारायणी पश्चिमको भागलाई अबध भनिन्छ। र, अबधको केही भाग नेपालमा पनि छ।’ 

अवधको केही भाग नेपालमा परेपनि अयोध्या पूर्वकालदेखि नै भारतको त्यही स्थानमा रहेको उनको दाबी छ। 

‘अयोध्यामा राम जन्मभूमि छ, कनक दरबार पनि त्यहीं छ, सरयुग नदी त्यहीं बगेको छ, वास्तविक अयोध्या त्यही हो,’ उनले प्रष्ट पारे। 

प्रधानमन्त्री ओलीले भनेअनुसार वीरगन्ज पश्चिमको भूभाग अयोध्या नभएर त्यसको क्षेत्रमात्र रहेको महन्त दासकाे भनाइछ। 

रामजानकी विवाहोत्सवको अवसरमा हरेक वर्ष अयोध्याबाट जनकपुरमा जन्ती आउने गरेको प्रसंग कोट्याउँदै महन्त दासले भने, ‘रामजानकी विवाहोत्सवमा हरेक वर्ष भारतको अयोध्याबाट जन्ती आउने परम्परा कायम छ। वास्तविक अयोध्या त्यही हो।’ 

केही समयअघि भारतका प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुर आएकाे बेला 'अयाेध्या-जनकपुर' संयुक्त्त बस सेवा उद्घाटन गर्दै नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदी। फाइल तस्बिर

उनका अनुसार यसका यथेष्ट प्रमाणहरू रामायणमै उल्लेख गरिएका छन्। 'दुई चारजना पाे पागल हुनसक्छन्, वर्षौंदेखि त्याे अयाेध्यामा आउने लाखाैं मानिस सबै पागल हुन् त?

‘सरयुग नदीको छेउमा अयोध्या अवस्थित रहेको रामायणमा भनिएको छ, सरयुग नदी कसैले खनेर बनेको होइन,’ उनी भन्छन, ‘वर्षौसम्मको कानुनी लडाइँपछि त्यहाँ राम मन्दिर बनाइँदै छ, यी सब आधारले पनि वास्तविक अयोध्या त्यहीं रहेको पुष्टि हुन्छ।’ 

यसैगरी संस्कृतिविद् डा.राजेन्द्र विमलले पनि वीरगन्जभन्दा पश्चिम वास्तविक अयोध्या रहेको भन्नुको कुनै आधार नरहेको बताउँछन्। 

पौराणिक ग्रन्थसहितका पुराणहरूको हिसाबले अयोध्या ठोरीमा रहेको भन्नुको कुनै आधार नरहेको उनको भनाइ छ। ‘आजसम्मको १८ पुराण, चारवटा वेद,  ब्राम्हण गन्थलगायतका कथाहरूमा अयोध्या भारतमै रहेको प्रष्ट हुन्छ,’ डा. विमलले भने। 

शास्त्रमा उल्लेख रहेको तथ्य कसैले बंग्याउन नहुने उनको भनाइ छ।  

यसैगरी जनकपुरस्थित अग्निकुण्डका महन्त नवलशरण दासले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले संस्कृतिमाथि प्रहार गरेको टिप्पणी गरेका छन्। मधेस र मधेसी जनताको भावना जोडिएको ठाउँमा प्रधानमन्त्री ओलीले पटकपटक प्रहार गर्ने गरेको महन्त दास बताउँछन्। 

‘जनकपुर र अयोध्याबीच आजको होइन, पौराणिक कालदेखिको सम्बन्ध हो, प्रधानमन्त्री भन्नु हुन्छ, भगवान राम त्यति ठाढाबाट विवाह गर्न जनकपुर कसरी पुगे,’ महन्त दास भन्छन्, ‘प्रधानमन्त्रीज्यूलाई रामचरितमानस पढ्न जरुरी छ, भगवान राम विश्वामित्रसँग आएको कुरा रामायणमा उल्लेख छ।’

वीरगन्जभन्दा पश्चिम यदि अयोध्या हो भने सरयुग नदी कहाँ बगेको छ भन्दै दासले प्रश्न गरे। मधेसको संस्कृतिमाथि प्रहार गर्ने हिसाबले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति आएको उनको भनाइ छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आएकोबेला प्रधानमन्त्री ओलीले संयुक्त रुपमा जनकपुर-अयोध्या बस सेवा उद्घाटन गरेको प्रसंगपनि अग्नि कुण्डका महन्त दासले कोट्याए।


Leave a Reply

Your email address will not be published.