सलहले १८ बिघाको मकैमा क्षति पुर्‍यायो

सलहले १८ बिघाको मकैमा क्षति पुर्‍यायो

दाङको देउखुरीमा सलहले १८ बिघामा लगाएको मकैमा क्षति पुर्‍याएको छ। देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ।

गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिघामा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए। ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पुर्‍याएको छ,’प्रमुख धितालले भने, ‘करिव एक घन्टामै सलहले क्षेती पुर्‍याएको हो।’ सलहले धेरै मकै बालीमा क्षति पुर्‍याएको उनको भनाइ रहेको छ।

देउखुरी क्षेत्रमा आइतबार दिउँसो सलह प्रवेश गरेको थियो। अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए। उनले कृषकहरूलाई सचेत रहनसमेत आग्रह गरेका छन्।

यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो। दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरू चिन्तित भएका छन्। तयारी हुन थालेको मकै र भर्खरै मात्र रोपिएको धान तथा तरकारी बालीमासमेत क्षति पुर्‍याउने चिन्तामा कृषकहरू रहेका छन्।

आइतबार दाङमा आएको सलह यसअघि आएकोभन्दा ठूलो संख्यामा रहेको राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारीले जानकारी दिएका छन्। राप्ती गाउँपालिकामा दिउँसो करिब डेढ बजेतिर सलह देखा परेको उनको भनाइ छ।

जिल्लाको दक्षिणी सीमा हुँदै भारतबाट सलह प्रवेश गरेको धितालले जानकारी दिए। देउखुरी क्षेत्रमा बसेको सलह पूर्व र उत्तरतर्फ लागको थियो। सलह बसेपछि स्थानीयहरू‍ले धुँवा बनाउने, आवाज निकाल्ने गरेर धपाउने गरेका थिए। स्थानीयको पहलमा नै सलह धपाइएको कृषि ज्ञान केन्द्रका प्रमुख धितालले बताए।


Leave a Reply

Your email address will not be published.