‘प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति धार्मिक आस्थामाथि प्रहार’

‘प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति धार्मिक आस्थामाथि प्रहार’

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेन्द्र यादवले अयोध्यासम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले सम्पूर्ण हिन्दुहरुको धार्मिक आस्थामाथि प्रहार गरेको बताएका छन्।

नेता यादवले वर्षौंदेखि कायम सनातन परम्पराविपरित अयोध्याबारे अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले धार्मिक आस्थामाथि प्रहार गरेको बताएका हुन्।

भगवान राम र सीताका साथै जनकपुर तथा अयोध्याबीच पौराणिक कालदेखि स्थापित सनातन परम्पराविरुद्ध प्रधानमन्त्रीको टिप्पणी रहेको उनले बताए।

‘भगवान राम र सीता विश्वभरका हिन्दुहरुका लागि आस्थाका केन्द्र हुन्, सम्पूर्ण हिन्दुका लागि जनकपुर र अयोध्यालाई धार्मिक स्थलको रुपमा लिइन्छ,’ आयोमेलसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका यादवले भने,‘प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएर दुई मुलुकबीचको सम्बन्ध बिगार्ने काम भएको छ।’

परापूर्वकालदेखि हिन्दु आस्थाको केन्द्र रहेको अयोध्यालाई विवादमा तान्ने काम नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले वर्षौैदेखि नेपाल र भारतबीच रहेको बेटीरोटीको सम्बन्धमा खलल पु-याउने निश्चित रहेको यादवले बताए।

‘प्रधानमन्त्रीजस्तो पदमा बसेको व्यक्तिले जथाभावी बोल्न सुहाउँदैन, तर्क र तथ्यपूर्ण कुरा गर्नु पर्दछ,उहाँ कसको इशारामा के बोल्नु हुन्छ हामीलाई मतलब भएन्,’ यादवले भने,‘राम जानकी विवाहोत्सवमा अयोध्याबाट जनकपुरसम्म जन्ती आउने वर्षौंदेखि परम्परा कायम छ। यसअघि भारतमा रहेको अयोध्या एक्कासी पर्साको ठोरीसम्म कसरी आइपुग्यो। प्रधानमन्त्रीसँग कुनै तथ्य छ जस्तो लाग्दैन्।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा प्रधानमन्त्री ओलीले स्वयं जनकपुर–अयोध्या बसको संयुक्त उदघाट्न गरेको प्रसंग कोट्याउँदै नेता यादवले भने,‘बस उदघाट्न गर्दा दुई वर्षअघि भारतमा रहेको अयोध्या अहिले पर्सा जिल्लामा कसरी आइपुग्यो ?’


Leave a Reply

Your email address will not be published.