नक्कली भ्याट बिल प्रकरणमा ३७ करोड बिगो माग्दै दुई कम्पनीविरूद्ध मुद्दा
राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा काठमाडौंका दुई कम्पनीविरूद्ध ३७ करोड बिगो माग्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार काठमाडौं-१ को युनिक वाइड इन्टरनेशन र न्यू युनिक इन्टरनेशनलविरूद्ध ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।
उक्त कम्पनीका सञ्चालकलाई सो बिगो रकम असुल गरी जरिवाना तथा कैद सजायसमेत माग गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
मैनालीका अनुसार ती कम्पनीले वस्तु तथा सेवा नै खरिद नगरी झुठा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरेर राजश्व चुहावट गरेको पाइएको छ।
कम्पनीले मूल्य अभिबृद्धि करतर्फ १२ करोड ४२ लाख २८ हजार ६१७, आयकर २२ करोड ८० लाख ५९ हजार ३०९ र लाभांश कर दुई करोड ५७ लाख ४० हजार ७७३ रुपैयाँ राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको छ।
‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ१) बमोजिम राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले युनिक वाइड इन्टरनेश्नल प्रा.लि., न्यू युनिक इन्टरनेशनलका संचालक/प्रोप्राइटर एवम् झुट्टा तथा नक्कली बिल बिजक उपलब्ध गराउने व्यक्ति भुवन पाण्डेलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन २०७६) को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) बमोजिम बिगो रकम कायम गरी मुद्दा दायर गरिएको छ,’ मैनालीले भने।