प्रदेश २ मा ६७ जनामा कोरोना पुष्टि
प्रदेश २ मा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशको पाँच जिल्लाका ६७ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार धनुषा, महोत्तरी, सप्तरी, रौतहट र पर्साका थप ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ६७ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ९०३ पुगेको छ।
धनुषामा १९, महोत्तरीमा १९, सप्तरीमा १४, रौतहटमा १३ र पर्साका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।
धनुषाको विदेह नगरपालिकाका ७, मिथिला बिहारी नगरपालिकाका ८ र लक्ष्मीनियाँ गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी महोत्तरीको गौशाला नगरपालिका क्वारेन्टाइनका पनि १९ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिकाका ५, अग्निसार कृष्णसावरण्न गाउँपालिकाका ४, रुपनी गाउँपालिकाका ४ र राजविराज नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।
रौतहटको इशनाथ नगरपालिकाका १४, फतुवा विजयपुरका १ र ठाउँ नखुलेका ४ जनामाा संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ। पर्साको वीरगंज महानगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताइएको छ।
यता प्रदेश २ का आठ जिल्लास्थित क्वारेन्टाइनहरू रित्तिँदै गएको छ। ३० हजार ८०५ बेड क्षमताको क्वारेन्टाइन रहेको प्रदेश २ मा अहिले ३ हजार ४१ जना क्वारेन्टाइनमा रहेका छन्।
यसैगरी ४२ हजार ८५१ जनाको स्वाब संकलन भएकोमा प्रदेश २ मा १ हजार ८४६ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।