सर्लाही धनकौल घटनाको छानबिन गर्न माग

सर्लाही धनकौल घटनाको छानबिन गर्न माग

सर्लाहीको धनकौलमा भएको गोली काण्डको छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ। घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कांग्रेसले माग गरेको हो।
 
नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, सर्लाहीबाट निर्वाचित प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहलगायतका नेताहरू प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहलाई भेटेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन्।

केही दिनअघि सर्लाहीको धनकौलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा एक दर्जन मानिस घाइते भएका थिए। झडपमा नेकपा कार्यकर्ताले गोली चलाएको कांग्रेसले आरोप लगाएको छ भने नेकपाले कांग्रेस कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ।

यता धनकौल गाउँपालिका घर रहेका प्रदेश सांसद सिंहले शक्ति केन्द्रको आडमा नेकपाले कांग्रेस कार्यकर्तालाई जबरजस्ती फसाउन खोजेको आरोप लगाएका छन्।

‘अर्को गाउँबाट आएका नेकपा कार्यकर्ताहरूले धनकौलका धिरु वर्मा भन्ने व्यक्तिको घरअगाडी जबरजस्ती टायर बाल्न खोजेपछि विवाद भएको थियो, उनीहरूले कुटपिटसमेत गरे’ सांसद सिंहले भने,‘स्थानीयवासीले प्रतिकार गरेपछि उनीहरू गोली चलाउँदै त्यहाँबाट भागे।’ 

प्रहरीले सत्ताको दबाबमा आएर गोली चलाउने मानिसलाई पक्राउ नगरेर उल्टै आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको सिंहले दाबी गरेका छन्।

‘हामी प्रदेश प्रहरी प्रमुखलाई भेटेर घटनाको भिडियोसमेत देखाएका छौं, छानबिन गरेर दोषीलाई कारबाही गर्न भनेका छौं,’ सिंहले भने,‘उहाँले छानबिन गरेर दोषीलाई कारबाही गर्ने आश्वासन दिनु भएको छ, हेरौं के हुन्छ ?’

सांसद सिंहले शक्तिको आडमा घटनाको अनुसन्धान रोकेर घटनाको वास्तविक दोषी जोगाउने काम भइरहेको आरोप लगाएका छन्। कुटपिटका साथै गोली चलाउने व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जोहेरी दिएपनि हालसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको सिंहले बताए।


Leave a Reply

Your email address will not be published.