पोलिमर नोट छपाइ प्रकरणमा पूर्वगभर्नर रावलसहित सबैलाई सफाइ
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनालाई प्लास्टिक (पोलिमर) नोट छपाइसम्बन्धी मुद्दामा विशेष अदालतले सफाइ दिएको छ।
विशेषका अध्यक्ष शिवराज अधिकारी तथा सदस्यहरू शान्तिसिंह थापा र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले मंगलबार पूर्वगभर्नर रावल, केन्द्रीय बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट छाप्ने कम्पनीको नेपालस्थित प्रतिनिधि हिमालयबहादुर पाँडेलाई मंगलबार सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध दुई वर्षअघि पोलिमर नोट छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
त्यसबेला केन्द्रीय बैंकले कूल ५० करोड रुपैयाँ परिमाणमा १० रुपैयाँ दरका ५ करोड थान पोलिमर नोट छाप्न अस्ट्रेलियाको एक कम्पनीलाई ठेक्का दिएको थियो। तर, नोट छाप्दा गुणस्तरमा सम्झौता गरेको, स्थानीय प्रतिनिधिसँग मिलेर रकम लेनदेन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।