पानी खोज्दा खोज्दै पानीले नै लियो ज्यान

पानी खोज्दा खोज्दै पानीले नै लियो ज्यान

रातभर झम्झम पानी प-यो। तर बिहान घरको धारामा पानी आएन। स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ खहरेका ६ दाजुभाइ खानेपानीको मूलमा पुगे। कोही मुहान सफा गर्नतर्फ लागे। कोही पाइप बोक्न लागे। एकैछिनमा पहिरो खस्यो। सबैलाई बगायो। 

पहिरोमा बगेका २ जना उम्कन सफल भए। ‘पानी नआएपछि मुहानमा जानुभएको थियो। सुरुमा सुख्खा पहिरो खसेछ। पछि भेलसहितको पहिरो आएछ,’ वडा सदस्य सरस्वती पाण्डेले भनिन्। 

खानेपानीको मुहानमा पुगेका ३ जनाले घर फर्किन पाएनन्। कालिगण्डकी गाउँपालिका–४ खहरेका ६५ वर्षे इमानसिंह राना, ६० वर्षे जिमानसिंह थापा र ५० वर्षे टीकाबहादुर थापाको मृत्यु भयो। 

मृतक इमानसिंह राना साविकको विर्घा गाविसका अध्यक्ष हुन्। पहिरोमा परेर घाइते भएका २ जनाको पाल्पामा उपचार भइरहेको छ। घाइते हुनेमा ६८ वर्षे होमनाथ पाण्डे र ५५ वर्षे वीरबहादुर पाण्डे घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। 

पहिरोमा परेर घाइते भएका ६८ वर्षे पाण्डे सोही वडाका वडासदस्य समेत हुन्। ‘घाइतेहरू पानी बनाउनलाई पाइप सार्न लाग्नुभएछ। अरु मुहानमा पानी बनाउन लाग्नुभएछ। वडासदस्य ज्यूलाई अर्का घाइतेले पहिरोबाट तान्नुभएछ,’ वडा सदस्य पाण्डेले भनिन्। 

उनका अनुसार सामान्य घाइते भएका दुवैको पाल्पामा उपचार भइरहेको छ। वडा सदस्य पाण्डेका अनुसार पहिरोले खानेपानीको मुहान नै पुरेपछि अहिले गाउँमा पानी आएको छैन। 

पहिरोमा पुरिएका खहरेकै ६० वर्षे प्रेमचन्द्र पाण्डे अझै वेपत्ता छन्। स्थानीय, नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खोजीका लागि दिनभर खटिए पनि उनी नभेटिएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्। उनले भनिन्, ‘मान्छेले खोज्न सम्भव नै थिएन। डोजर प्रयोग गर्दा पनि उहाँ भेटिनु भएन। बिहान फेरि खोजी थाल्छौं।’ 

लगातारको वर्षाले खहरेका ४ घर जोखिममा परेका छन्। जोखिममा परेका ४ परिवारका २३ जनालाई छिमेकीको घरमा बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जानाकारी दिए। विस्थापितलाई १/२ दिनमा स्थानीय विद्यालय वा टहरा बनाएर व्यवस्थापन गरिने उनको भनाइ छ। 


Leave a Reply

Your email address will not be published.