अन्डा-मासुको चर्को मूल्य, किसानबाट २५० मा किनेर ४२० सम्ममा बिक्री

अन्डा-मासुको चर्को मूल्य, किसानबाट २५० मा किनेर ४२० सम्ममा बिक्री

गत चैतमा ब्रोइलर कुखुरा र अन्डाको मूल्यमा नाटकीय ढंगबाट गिरावट आयो। 

काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँमा झर्दा अन्डाको भाउ पनि प्रतिक्यारेट २ सय ५० सम्म कायम भयो।

जबकि, लकडाउन जारी (चैत ११) हुनुअघि ब्रोइलर कुखुराको मासुको भाउ प्रतिकिलो ३ सय २० र अन्डा प्रतिक्रेट २ सय ८० सम्म थियो। 

यसरी मूल्यमा भारी गिरावट आउनुको मुख्य कारण थियो, लकडाउनले मुलुक नै ठप्प हुनु र पशुपन्छीको मासु खाँदा ‘कोरोना संक्रमणको जोखिम हुन्छ’ भनेर हल्ला फैलनू।’

असार अन्तिममा आइपुग्दा ठीक उल्टो भएको छ।

कोल्ड सेन्टरमा ब्रोइलरको मासु प्रतिकिलो ४ सय २० रुपैयाँसम्म पुगेको छ, भने अन्डाको भाउ प्रतिक्यारेट साढे ३ सय रुपैयाँसम्म उकालो लागेको छ।

मासु व्यवसायीहरूले ब्रोइलर कुखुरा र अन्डाको भाउ अकासिनुमा ‘माग बढ्नु तर उत्पादन घट्नु’ लाई 

दोषी करार गरेका छन्। तर यसरी भाउ उकालो लाग्नुमा उत्पादन घटेको भनेर मात्र पन्छिने ठाउँ छैन।

‘काठमाडौंको बजारमा बढेको मूल्य कृत्रिम पनि हो, यसले कुखुरा उत्पादनमा असर पर्छ,’ नेपाल कुखुरापालक संघका अध्यक्ष झनक पौडेल भन्छन्, ‘सप्लायर्स र कोल्डस्टोरको मनपरी छ।’

व्यवसायीले जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँसम्ममा किनिरहेका छन्। तर, उपभोक्ताले मासुमा सवा चार सयरुपैयाँ खर्चिनु परेको छ।

पौडेल २ सय ५० रुपैयाँमा बिक्री भएको कुखुराको मासु उपभोक्ताले बढीमा ३ सय ५० रुपैयाँमा पाउनुपर्ने बताउँछन्। 

चितवनका कुखुरा व्यवसायी राजेन्द्र लामिछाने किसानले अझै लागत मूल्य पाउन कठिन भएको बताउँछन्। ‘दानाको मूल्य बढेको छ। मासुको मूल्य बढे पनि किसानले लागत पाउन नसकेका छैनन्,’ उनले भने।

किन घट्यो उत्पादन ?

लकडाउनमा अन्डा–मासुको माग घटेपछि कयौँ किसानले नयाँ चल्ला राखेनन्। 

लकडाउनकै समयमा चितवनका ह्याचरी व्यवसायीले त अन्डा र चल्ला नष्ट गर्ने अभियान (चिकेन होलिडे) चलाए।  

ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलका अनुसार, लकडाउनको ७० दिनसम्म कुखुराका चल्ला उत्पादन गरिएन्। ‘लकडाउनमा पसल बन्द भए। कुखुराका गाडी चल्न प्रतिबन्ध लगाइयो,’ पोखरेलले भने, ‘७० दिनको अवधिमा ४ करोड २० लाख वटा चल्ला गाड्न बाध्य भयौँ।’ 

ह्याचरी व्यवसायीले ब्रोइलर कुखुराका ४ करोड चल्ला नष्ट गरेका छन्। २० लाख वटा लेयर्सका चल्ला खाल्टोमा पुरेका थिए। उत्पादकले अन्डाका लागि पालिने लेयर्स पनि बेचे।

नेपाल अन्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी अहिले किसानसँग लेयर्स कुखुरा नहुँदा अन्डाको उत्पादन घटेको बजारमा भाउ बढेको दाबी गर्छन्। 

०७६ माघमा कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा नष्ट गरेका थिए। त्यो बेला उनीहरूले ३० लाख चल्ला मारेका थिए, भने चल्ला कोरल्न राखिएका ३ करोड ५० लाख अन्डासमेत नष्ट गरे।

ह्याचरी व्यवसायीले त्यसअघि आफ्नै उद्योगमा १० दिन हडताल गरेर चल्ला र मासु उत्पादन बन्द गरेका थिए। त्यतिखेर पनि ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४ सय २० रुपैयाँ पुगेको थियो।

माघमा बजारमा कृत्रिम अभाव सृजना गराएर भाउ बढाउन सफल भएका ह्याचरी र कुखुरा व्यवसायी अहिले लकडाउनलाई बहाना बनाइरहेका छन्।

बजारमा मासु, अन्डाको माग बढ्न थालेपछि उत्पादक किसानले फार्ममा चल्ला राख्न थालेका छन्। तर, व्यवसायीले भाउ बढाउने जुक्ति निकालेका छन्।

लकडाउन अघि प्रतिगोटा २०÷२५ रुपैयाँ रहेको कुखुराको चल्लाको भाउ बढाएर सप्लायर्सले ६५ रुपैयाँ पु¥याएका छन्। 

कुखुराको दानाको भाउ पनि उच्च राखेका छन्। जबकि दानाका लागि प्रयोग हुने मकैको भाउ ४५ रुपैयाँबाट घटेर २०÷२२ 

रुपैयाँमा सीमित भएको छ। तर, दानाको भाउ घटेको छैन। प्रतिकिलो ६८ रूपैयाँ छ।

‘चल्ला र दानाको भाउ बढाइएको छ, यसले गर्दा अझै केही महिना मूल्यमा खासै सहजता हुने अवस्था देखिँदैन,’ पौडलले भने।

अहिले अवस्था हुन थालेको छ। ठूला बाहेकका होटल, रेस्टुराँ खुलेका छन् पशुपन्छीको मासु, अन्डा खाँदा कोरोना सर्छ भन्ने भ्रम पनि हटेको छ। यो अवस्थामा माग त बढ्छ नै। 

काठमाडौंको बजारमा बढेको मूल्य कृत्रिम भएको र यसले कुखुरा उत्पादनमा असर पर्छ।

पहिले किसानले कुखुरा, अन्डा बेचेर दाना, कुखुराको पैसा तिर्थे। तर, अचेल दाना, ह्याचरी र सप्लायर्सहरूले नगदै माग्न थालेपछि  धेरै किसानको खोर खाली रहेको पौडेल बताउँछन्। 

यसरी खोर खाली हुँदा विक्रेतादेखि उपभोक्ता मारमा परेका छन्। जबकि सरकारले उत्पादन र निर्माण क्षेत्रका लागि वैशाखमै लकडाउन खुकुलो बनाएको थियो।

भरतपुर महानगरपालिका–१० का मासु बिक्रेता अनुज जोशी पनि कुखुरा पाइन छाडेपछि माग अनुसार मासु बेच्न सकेका छैनन्। ‘किसानको घरसम्म पुग्न सकिँदैन। सप्लायर्समा ४० केजी माग्ने हो भने २५ केजीसम्म दिन्छ,’ जोशीले भने। अहिले चितवनका बजारमा पनि ब्रोइलर कुखुराको मासुको मूल्य ४ सय १५ रुपैयाँ पुगेको छ। 

अहिले व्यवसायीले प्रत्येक साता ३७ लाख कुखुराको चल्ला उत्पादन गर्ने गरेका छन्। यसअघि प्रत्येक साता ४२ हजार वटा चल्ला उत्पादन गर्दै आएका थिए।

नेपालमा तीन सय ह्याचरी छन् भने, दुई हजारभन्दा बढी लेयर्सका ठूला फर्म रहेको नेपाल ह्याचरी संघको तथ्यांक छ। कुखुरा व्यवसायी संघका अनुसार देशभर करिब ९ लाख किलो कुखुराको मासुको माग हुन्छ ।  

रमिते संयन्त्र    

गत माघमा चल्ला र अन्डा नष्ट गर्दा नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ‘नोटिस’ मात्र गर्यो। न चल्ला र अन्डा नष्ट गरेर बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही ग¥यो न पछि मूल्य आकासिदा बजार नियन्त्रण गर्न सक्यो।

विभाग अहिले पनि त्यही अवस्थामा पुगेको छ। ‘कम उत्पादन’ भएको नाममा अन्डा–मासुको मनपरी भाउ तोकिएको छ, तर कुनै चासो देखाइएको छैन।

उपभोक्ता अधिकार तथा संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना अन्डा–मासु किसानबाट उपभोक्तासम्म पुग्दा बिचौलियाले खेल्ने गरेको र भाउ उच्च कायम गर्ने गरेको बताउँछन्। 

भन्छन्, ‘एक महिना समस्या भएपनि वैशाखबाट उत्पादन र सप्लायर्स क्षेत्रमा सहजता कायम गरेको थियो। तर, लकडाउनलाई बहाना बनाएर कम उत्पादन गरियो। अहिले कृत्रिम अभाव देखाएर मनपरी मूल्य असुलिँदैैछ।’ 

वाणिज्य विभागले कार्टेलिङ गर्नेलाई कारबाही गर्न नसकेको उनको आरोेप छ।

मूल्यवृद्धि गर्दा किसानलाई नभई विचौलियालाई नै फाइदा हुने गरेको सरकारी प्रतिवेदन नै छ।

वाणिज्य विभागका निर्देशक रवीन्द्र आचार्य कुखुरा व्यवसायीले उत्पादन नै नहुँदा भाउ बढेको बताए पनि अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए। ‘किसानको खोरमा कुखुरा नभएरै बजारमा भाउ बढेको हो कि किसानबाट सस्तोमा किनेर महँगोमा बेचिएको हो, यसबारे पनि अध्ययन गरेर प्रक्रिया अगाडि बढ्छ,’ उनले भने।

(साथमा चितवनबाट वसन्त ढुंगाना) 


Leave a Reply

Your email address will not be published.