राति १२ बजे ब्यूँझेर के माया लाग्छ र?

राति १२ बजे ब्यूँझेर के माया लाग्छ र?

एउटा गीत लेख्नैपर्ने थियो। तर, लेख्नु चै के? 

दिमाग चलिरहेको थिएन। 

राति अबेरतिर रेष्टुरेन्ट बन्द गरेर उनी घर गए। निद्रा परेन। १२ बज्यो। 

के माया लाग्छ र…? 

त्यसपछि शब्दका त के कुरा, ‘गुटुङटुङ’ आइहाले। 

सवा १२ बजे त गीत बनिसकेछ। 

केही दिनयता ‘उखुम्मै’ सुनिने गीतका यी शब्द लेखेका हुन्, हर्क साउदले।

जब शब्द फुर्छ, उनी १५ मिनेटमै लेखिसक्छन्। फुर्न पो समय लाग्छ।

अनि त्यो गीत बन्छ र, एकैछिनमा ‘हुरहुरी’ चल्छ। भाइरलै बनिसक्छ। 

‘सुन साइँली…’ होस् या ‘कर्ली कपाल…’ वा ‘प्याटप्याटे चप्पल…’ शब्दहरू यसैगरी हुरहुरी आइदिन्छन्।

दिनभरि रेस्टुरेन्टको काम फुर्सद नै कहाँ हुन्छ र, त्यसैले उनका शब्द राति १२ बजेपछि नै फुर्छन्। 

हो, गीत यसैगरी फुरिदिन्छन्, ‘यादहरू कुहिरोजस्तै हुरहुरी आइदिन्छन्, मनभित्र माया उखुम्मै उर्लिन्छ अनि पिरती जोगाउन भाग्नुपर्छ, भगाउनुपर्छ गुटुङटुङ।

हर्कका लागि गीतका शब्द ती होइनन्, जो ‘सनातन’ बगिरहेका छन्, उनका लागि ती शब्दमा जिन्दगीका धुन गाँसिएका हुन्छन्, जो हर मान्छेका ओठमा झुन्डिएका हुन्छन्। 

उनले लेखेको ‘के माया लाग्छ र…’ गीत तीनसाता यता युट्युबमा ३२  लाखभन्दा बढी धेरैले हेरिसकेका छन्। 

चलेका गीतमाभन्दा अलिक फरक शब्द खोज्छन् साउँद। 

गाउँघरमा चल्ने ठेट शब्दलाई उनले गीतमा बुन्छन्। 

‘यी दर्शकले त सना-साना कुरा पो मन पराउँदा रैछन् नि’ रेष्टुरेन्टमै भएको एउटा भेटमा उनी हौसिँदै थिए ‘हेर्नुस् त १५ मिनेटमा लेखेका यी शब्दलाई धेरैले मन पराइसकेका छन्।

हो, पनि जब युट्यूबमा ‘के माया लाग्छ र…’ रिलिज भयो अनि गीत त ‘हुरहुरी’ चल्यो। 

कुहिरोमा मिसिएको उनको यादजस्तै। 

हुन त संगीतको न कुनै भाषा हुन्छ न त कुनै समय नै।

हुन्छ त केवल रस, राग। जसले सबैलाई रिझाउँछ।

संगीत भावनासँग ठोक्किन आइपुग्छ, हुरहुरी। कथा, व्यथा, भोगाइले मेल खान्छ अनि सोच्छन्- यो त मेरै लागि लेखिएको हो।

अहिले यस्तै भएको छ। के माया लाग्छ र?, ‘उखुम्मै’, ‘गुटुङटुङ’ जिब्रोमा झुन्डिएका छन्। भाव मिसिएको छ।

ठेट शब्दकाे छनोट भएरै होला फेसबुकदेखि टिकटकमा उयुक्त छोटा भिडियो पनि बनेका छन्।

शब्द कोर्ने आफ्नै शैली छ, साउँदमा। यसो आफूले देखे, भोगेका विषयबस्तु मथिङ्गलमा घुमाउँछन्। घोरिन्छन् अनि कल्पिन थाल्छन्। भन्छन्, ‘अप्ठ्यारा लाग्ने भन्दा लोकबोलीमा भिजेका तर खासै प्रचलनमा नरहेका शब्द बटुल्छु अनि लय बुन्छु।’

शब्दशब्द बुनेर दुई-चार दिन थन्क्याउँछन्। फेरि छाँटकाँट गर्छन्। कहिले त आफैँलाई मीठो लागेको गीत सहिद बनिदिन्छ, मन नपरे। तर, यस्तो अवस्था बिरलै भोग्नुपरेको छ, साउदले।

‘सुन साइँली’ को सफलतापछि ठूला ब्यानरका फिल्ममा समेत गीत रेकर्ड गराएका उनी संख्यामा विश्वास गर्दैनन्। गीतकार साउदलाई कति गीत लेखियो भनेर संख्या गन्नु छैन बरू कस्ता गीत लेखे भनेर आफैंलाई जाँच्न चाहन्छन्।

‘साइँली…’ देखि ‘के माया लाग्छ र…’ सम्म आइपुग्दा उनले लेखेका दर्जन गीत रेकर्ड भएका छन्।

उनका हालसम्म प्रेमगीत-३ को ‘हात्ती ढुंगामा…’, क्याप्टेनको ‘कर्ली कर्ली कपाल…,साइँलीको ‘नाच माया…र ‘प्याटप्याटे चप्पल’, कबड्डी कबड्डीको ‘दुबो फुल्यो…’, ‘बटौली…’ लगायत चर्चित गीत छन्।

उनका अरू गीत पनि हिट नभएका भने होइनन्। तर, ‘के माया लाग्छ र..?’ ले स्रोताको माया त पाए नै उनी झनै खुसी बने। उनी मिहिनेतले दर्शकको माया स्नेह पाएकोमा सन्तुष्ट छन्।

सुदूरपश्चिमको डोटीमा जन्मेका साउदमा बाल्यकालदेखि नै गीतसंगीतमा लगाव थियो। गाईभैंसी गोठालो अनि मेलापात जाँदा देउडा गुनगुनाउने उनको लक्ष्य त जंगी बन्ने थियो। 

सैनिक बनेर मुलुकको रक्षा गर्ने तर लक्ष्य त पूरा भएन तर साउद एक चर्चित गीतकार बनेका छन्। बाल्यकालमा सुनेमा भाका उनको मस्तिष्कमा बसेका थिए। जुन पहिलो पटक साइँलीमा झल्किएको थियो। 

उनले बाल्यकालमै आमा गुमाए। बुवाको काखमा हुर्किए। ०५६ मा गाउँमै एसएलसी दिएका उनलाई एकाएक झोक चल्यो। बुवासँग अनुमति लिएर काठमाडौं हिँडे।

घरबाट बुवाले चाहिने पैसा पठाउन सक्दैनथे। आइए पढ्दै गर्दा पढाइसँगै काम गर्न थाले। त्रि-चन्द्र कलेजबाट एमए पनि गरे। 

काठमाडौं आएपछि उनको सपना फेरियो। मनमा अनेकौं शब्द खेल्न थाले। अनि सरकारी जागिरे बन्ने सपना पलायो। तर, साउदको सरकारी जागिरे सपना त्यतिखेर फेल खायो जब, पाँच पटक लोकसेवा परीक्षा दिँदा पनि सफल हुन सकेनन्।

अनि बागबजारमा रेस्टुरेन्ट खोले। आराधना रेष्टुरेन्टमा अहिले दिनभर हुन्छन् अनि राति गीतका शब्द कोर्छन्। 

उनको नामको पनि कथा छ। गाउँघरमा अझै पनि ‘रामलाई रामे’ श्यामलाई श्यामे’ भनेर डाक्छन्। हर्कलाई पनि के छाड्थे। गाउँमै छँदा मात्र होइन, काठमाडौंबाट घर फिर्दा पनि उनलाई ‘हर्के’ भनेर बोलाउने जमात घटेनन्।

र, जुक्ति निकाले। नाम नै फेरि दिने। टन्टै साप अनि उनी हर्कबाट हिमाल बने। मुस्कुराउँदै भन्छन् ‘अब त ‘हिमाले’ भन्दैनन्।’ सुन साइँलीको गीतमा कालीप्रसादसँगै जोडिएको नाम हिमाल उनै हुन्।

तर, नाम त नामै हो। विद्यालयदेखि क्याम्पससम्मका मार्कसिट, सर्टिफिकेट अनि नागरिकतामा ‘हर्क’ नै लेखिएको छ।

डोटीबाट काठमाडौंमा रहेर गीतकार बनेका उनी चाहेर पनि ‘हर्क’ बाट ‘हिमाल’ बन्न सकेनन्। अचेल त ‘हर्क’ नाम पनि मीठो लाग्न थालिसकेको छ।

बागबजारमा संगीत स्टुडियो भएका कालीप्रसाद बाँस्कोटा उनको रेस्टुरेन्ट आउँथे। हर्कका अनुसार एकअर्काको रूचि मिलेपछि कालीप्रसादकाे ‘सुन साइँली…’ को धुन सुन्दै लेखे। हेमन्त रानाले स्वर दिएको ‘सुन साइँली…’ ले खुबै चर्चा पाएपछि हर्कलाई गीत लेखिदिन प्रस्ताव गर्नेहरू बढे।

साउदलाई कर्णाली नदीदेखि पश्चिम हिँडेपछि देउडा गीतका शब्द फुर्छन्। अनेकन भावना पैदा हुन्छन्। कर्णाली पारी पुग्दा शब्द उफ्रिन्छन् मस्तिष्कमा।

साउद आगामी दिनमा पनि केही फरक धारका शब्दसहित गीत लेख्ने  बताउँछन्।   

घरमा श्रीमती र  छोरासँग भन्दा रेस्टुरेन्टमा बढी हुन्छन् उनी। भन्छन्, ‘पेट त पाल्नै गर्‍याे।’

झिसमिसे बिहानीमै रेष्टुरेन्ट पुगेपछि राति १० बजे घर पुग्छन्। 

तर, राति उनका छोरा पनि गुनगुनाउन थाल्छन्

के माया लाग्छ र?
उखुम्मै लाग्छ नि।।

मेरो याद आउँछ र?
हुरहुरी आउँछ नि।।।

के लैजान्छौ सँगैमा?
गुटुङटुङटुङ भगाइ।।।।

राख्छौं कि त सँगैमा?
पाखुरीमा समाइ।।।।

अनि हर्क छोरालाई अँगालोमा कस्छन्। 


Leave a Reply

Your email address will not be published.