बजेट खर्च गर्ने प्रवृत्ति सुधार्नुपर्छ : मुख्यमन्त्री पोखरेल

बजेट खर्च गर्ने प्रवृत्ति सुधार्नुपर्छ : मुख्यमन्त्री पोखरेल

मुख्यमन्त्री शंकर पोखरेलले विनियोजित बजेटलाई नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन्।

प्रदेश सरकारका मन्त्रालयहरू र विभिन्न निकायको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृत्तिलाई पूर्णतः अन्त्य गर्न जरुरी भएको बताए। उनले नागरिकको प्रत्यक्ष लाभलाई मध्यनजर गरी मन्त्रालयहरूले काम गर्नुपर्ने बताए।

समयमा बजेट आए पनि बजेट कार्यान्वयनमा ढिलाइ भइरहेकाले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्रीको आग्रह थियो। 'आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ,' उनले भने। कोभिड-१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयहरूलाई आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिए।

'कोभिडले तत्कालका लागि समस्या ल्याए पनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ,' उनले भने।

कृषिको व्यवसायीकरणका लागि ध्यान दिन र त्यसका लागि किसानलक्षित कार्यक्रम प्रभावकारी बनाउनसमेत मुख्यमन्त्रीले आग्रह गरे।

'कृषिमा नयाँ सम्भावनाको खोजी गर्नुस्, कृषिका कार्यक्रमलक्षित समूहसम्म पुर्याउनुस्, त्यसो भयो भने कृषिबाट समृद्धि यात्रा सम्भव छ,' उनले भने। उनले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाइका आयोजनालाई पनि महत्त्वपूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताए।

संघ र प्रदेशबीच दोहोरोपन नहुने गरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिँदै त्यस्तो हुँदा बजेट खर्च हुने तर खर्च भएअनुसार नतिजा नदेखिने प्रवृत्ति रहेको बताए।

मुख्यमन्त्री शंकर पोखरेलले डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकाले मन्त्रालयहरूले दिने सेवाप्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसँग जोड्न आग्रह गरे।

वार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरू, योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरू सहभागी थिए।


Leave a Reply

Your email address will not be published.